काठमाण्डौ । धितोपत्रको दोस्रो बजार यो सातादेखि प्राकृतिक रुपमा चलेको देखिन्छ । 

बजारको गतिविधिलाई प्राविधिक चश्माबाट हेर्नेहरुले समेत अबको बजारको दिशा उकालो नै हुने बताइरहेका छन् । 

अघिल्लो साता निकै उत्तारचढाव व्यहोरेको बजारमा यो सातादेखि कारोबार रकममा पनि सुधार भइरहेको छ । यस्तो बेलामा सामान्य तथा नयाँ लगानीकर्तामा सेयरमा लगानी गरे के होला भन्ने द्विविधा देखिन्छ । यही द्विविधालाई हटाउन सहयोग होस् भन्ने उद्देश्यले अबको बजारको दिशाको विषयमा बिजशालासँग प्राविधिक विश्लेषण विष्णु बस्यालले आफ्नो विश्लेषण सेयर गरेका छन् । 

बस्यालले अबको १ महिनाभित्र नेप्से परिसूचक १४००-१४६० पुग्ने प्रक्षेपण गरेका छन् । 

लकडाउनपछि खुलेको बजारमा गत साता निकै नै उतारचढाव भएको र बजार खोल्नुअघिको अन्यौललाई चिर्दै बजारले अबको दिशा उकालो नै तय गरेको उनले ठोकुवा समेत गरे । 

नेप्से परिसूचक ११५० लाई बटम बनाएर बजारले रिकभर गरिसकेको उल्लेख  गर्दै बस्याल भन्छन्-'अहिले पनि उचित र प्राइम मूल्यमा लगानीकर्ताले सेयर लगानी गर्न उत्साहित भएको देखिन्छ । एक महिनाभित्र प्राविधिक रुपले नेप्से परिसूचक १४००-१४६० पुग्ने प्रबल सम्भावना देखिन्छ ।'

यही बीचमा केही करेक्सन देखिने उनको दाबीसमेत छ। 

कारोबार रकम र सेयर कारोबार पूर्ण समय हुनुले समेत बजार जुनसुकै हालतमा माथि नै जाने जिकिर गरेका बस्याल ११५० नै बलियो सपोर्ट भएको बताउँछन् । 

बजारको दीर्घकालीन दृश्यलाई ठम्याउन मुश्किल परिरहेको, तर अल्पकालीन रुपमा अब बजारको दिशा भने माथि नै जाने उनको ठम्याइँ छ।
बस्याल केही ठूला र बलिया बैंक तथा बीमा सेक्टर आगामी दिनमा बजारमा चल्ने सेयर भएका सुझाउँछन्  । 

बीमामा पनि निर्जीवन बीमा कम्पनीहरुले प्रिमियम रकम संकलन र नयाँ पोलिसी ल्याइरहेकाले निर्जीवन बीमा कम्पनीका सेयरमा उछाल आउने उनको प्रक्षेपण छ ।