-अर्जुन तिमिल्सिना
२०७३ साल साउन १२ गते अहिलेसम्मकै उच्चविन्दू १८८१ मा पुग्दा शेयर बजारको साँढे बजारमा बुर्कुशी मारेर कुदेको थियो  । तर, विगत २-३ वर्षयता लगानीकर्तालाई आफ्नो साँढे भेट्न हम्मे हम्मे परेको छ । 

अहिले  लगानीकर्ता अलमलमा छन् । कता गयो हाम्रो साँढे ? भन्दैछन् कोही भने अरु केही चाहि अर्थमन्त्रालयभित्र सिंह रहुञ्जेल बजारमा साँढे  नफर्किने भविष्यवाणी समेत गरिरहेका छन् । 

साँढे भेटाउन उति सजिलो छैन र भेटिहाले पनि त्यत्रो साँढेलाई आफ्नो बनाउनु चुनौतिपूर्ण नै छ । 

एकजना लगानीकर्ता भन्छन्, म २५ वर्षदेखि साँढेको पुच्छर समातेर हिँडेको छु, कहिले त  लात्ताले बजाइदिन्छ, कहिले सिंगले । कति पछार्यो, कति !

यो बजार भनेको पूँजी हुनेले ज्ञान कमाउने र ज्ञान हुनेले पुँजी कमाउने हो, त्यसैले पहिला ज्ञान बटुलेर आउनुहोस् भन्ने पनि धेरै देखिए, भोगिए । 

अर्काथरि लगानीकर्ता भन्छन्  यो बजारमा सफल हुनका लागि आफूमा धैर्यता, आँट र पारिवारिक सहयोग पनि हुन अपरिहार्य छ । 

अहिले ११५० को हाराहारीमा रहेको बजार नयाँ र पूँजी हुनेका लागि ठूलै अवसर हो, अब धेरै नकुरौं । 

कहिलेकाही हेर्दाहेर्दै साँढेले डाँडो काटिसकेको हुन्छ । अनि हामी समात्न खोज्छौ, बजाइदिन्छ, हामी पछारिन्छौ । सेयर बजारको यथार्थ यही हो ।

विश्व सेयर बजारका गुरु तथा सेयर बादशाह वारेन बफेट भन्छन्-'बजार भगवान जस्तै हो, यसले त्यस्तालाई मात्र सहयोग गर्न सक्छ, जसले आफैंलाई अर्थात् शेयर बजारलाई नै सहयोग गर्छ ।' संसारकै शेयर बजारमा जोखिम हुन्छ  र उतारचढाव भइरहन्छ । 

यसमा मुख्य कुरा  के हुन्छ भने लगानीकर्ताले कसरी आफूलाई सुरक्षित राख्ने र कस्तो खालको लगानी रणनीति अपनाउने भन्ने नै हो । यसमा पहिला लगानीकर्ता आफैंले आफैंलाई चिन्नु महत्वपूर्ण हुन्छ । 

बजारमा आफूले लगानी गरेको पैसा कस्तो पैसा हो, कति ब्याज तिर्ने गरी कति समयका लागि लिएको हो, आफ्नो होल्डिंग क्षमता कति छ र कति समयका लागि कस्तो कम्पनीमा लगानी गरिएको छ भन्ने कुरामा सुझबुझ राख्नु महत्वपूर्ण हुन्छ ।

होल्ड गर्न सक्ने लगानीकर्ता र समयमा पसेर समयमा निस्कन सक्ने लगानीकर्ताले जहिले पनि शेयर बजारबाट कमाएकै हुन्छन्, छन् ।  चुनौति के हो भने कहिले पस्ने, कहिले निस्किने र कस्तो कम्पनीमा लगानी गर्ने भन्ने छनौटको सीप सबैसँग हुँदैन । 

बजारमा केही लगानीकर्ता यस्ता पनि भेटिनुहुन्छ,जसले किन्नु भन्दा पहिला सामान्य खरिदको सामान्य नियम पनि भुलेर शेयर खरिद गर्नुहुन्छ अनि पछि अरुलाई सरापेर बस्नु हुन्छ । यो सरासर गल्ती हो । 

कोही पनि लगानीकर्ताले खरिद गर्नु भन्दा पहिला राम्रोसंग बजारको अवस्था, कम्पनीको अवस्था लगायतको विषयमा पर्याप्त अध्ययन गर्नुपर्छ र आफूलाई पूर्ण ज्ञान नभए विश्वासिलाहरुको मद्धत पनि लिन सकिन्छ । 

अब कुरा गरौं नेपालको सेयर बजारको अवस्थाको। कुनै बेला १८८१ बिन्दु छोएको बजार अब  के  होला रु आजभोलि धेरैमा यही जिज्ञासा छ । के अब बजार फर्किएर १८८१ सम्म पुग्ला ? वा अझै माथि पो जाने हो कि ? वा अहिलेको अवस्थाबाट अझै झरेर ११०० मुनि पो पुग्ला कि ? ओरालो लाग्यो भने कतिसम्ममा सीमित हुन पुग्ला ? लगानीकर्ताका मनमा यस्ता बग्रेल्ती जिज्ञासाका बादल मडारिएका छन् । 

आजसम्म कसैले पनि बजार ठ्याक्कै यही विन्दूमा पुग्छ भनेर भन्न सकेको छैन । यो भनेको भूकम्प कहिले र कति  बेला आउँछ भनेर भन्न नसके जस्तै हो । जतिसुकै प्रबिधिको विकास भए पनि बजारको भविष्यवाणी कसैले गर्न सक्दैन, गरिहाले त्यो पुग्दैन पनि । बजार लाखौ लगानीकर्ताको मनोभावनासँग जोडिएको हुन्छ । 

शेयर बजार भगवान हो, तर सेयर बजारमा कोही पनि भगवान होइन ।  प्राबिधिक होस् वा फण्डामेन्ट्ल कोणबाट विश्लेषण गर्नेहरुले संभावनाको विषयमा मात्र कुरा गर्ने हो । उनीहरुले प्रक्षेपण मात्र गर्ने हो । उनीहरुले यस्तो प्रक्षेपण सार्वजनिक गर्दा घटबढको आधारलाई चाहि केलाएकै हुन्छन्। 

सेयर बजारलाई प्रभाव पार्ने मुख्य कुरा भनेकै ब्याजदर हो । बैंक ब्याजदर घट्दा बजार बढ्छ, बढ्दा बजार घट्छ । 

लगानीकर्ताले जहिले पनि सुरक्षित लगानी चाहन्छ । यसको अर्थ हो, जति जति ब्याजदर बढ्दै जान्छ, लगानीकर्ता बजारबाट भाग्न थाल्छन् । किनभने बजारबाट हुने प्रतिफल भन्दा निक्षेपमा बढी  पाइन्छ । जसले गर्दा लगानीकर्ताले बजारबाट पैसा झिकेर समेत निक्षेपतर्फ लगाउँछन् । 

शेयर लोन वा ओभरड्राफ्ट लिनेहरुलाई बजारको प्रतिफल भन्दा लागत महँगो पर्न जान्छ ।

अब प्रश्न उठ्नसक्छस् उसो भए के अब बैंकको ब्याजदर घट्ला त ? उद्योगी र बैंकरबीचको सहमतिले यो संभव बनाउला ? के सरकारी र उसका एजेन्सीले ब्याजदरमा हस्तक्षेप गरी घटाउने काम गर्लान् ?

तर सरसर्ती हेर्ने हो भने ब्याजदर तत्काल घटिहाल्ने आधार चाहि देखिन्न । किनकि खुला बजार अर्थनीति आन्तर्गत चलेको हाम्रो बजारमा सरकारी हस्तक्षेप नै भए पनि त्यसले पूर्ण काम गर्दैन, नियन्त्रण मात्र हुने हो । 

त्यसो भए  समस्याको समाधान के हो त रु अल्पकालीन उपाय भनेको सरकारले पूँजीगत खर्चलाई फास्ट ट्रयाकबाट बढाउने, जसको लागि अर्थमन्त्रीले ठूलो छाति बनाउनै पर्छ । जसले तरलताको समस्या समाधान गर्छ र ब्याजदर पनि बजारले आँफै घटाउन  थाल्छ । यस्तो अवास्था आउनु भनेको शेयर बजारको लागि निकै सकारात्मक हुन जान्छ । 

अर्को उपाय भनेको अहिले सरकारले ल्याउन लागेको प्यान नम्बरको विषय केही समय थाँती राख्नु पनि हो । बजार पेनिक भएको अवस्थामा यो बिनालगनको बाजा जस्तै भएको छ, यसैको कारणले सरकारको कडा आलोचना पनि भइरहेको छ । यस्तो अवस्थामा यो मुद्धालाई केही समय थाँती राखिदिए कसैको केही बिग्रिन्न ।

हामीकहाँ धेरै बैंकहरु भएर पनि तानातानको अवस्था छ । यही तानातानले तरलताको अभाव विकराल बन्दै गएको छ । यस्तो अवस्थाम बिग मर्जर गरी बैंकहरुको संख्या घटाउने विकल्प उत्तम हुनसक्छ । हामीलाई ५० अर्ब पूँजी भएका १० वटा बैंक भए पुग्छ । 

बेलायत जस्तो खरबौको अर्थतन्त्र भएको देशमा जम्मा ८ वटा बैंक भए पुग्ने हामीलाई २८ वटा कमर्सियल र सय भन्दा बढी अरु बैंक तथा बित्तीय संस्था किन चाहियो यसले अस्वस्थ प्रतिस्पर्धा बढाएको छ । 

एउटा ठूलो जलविद्युत आयोजना निर्माण गर्न ४ वटा बैंक मिल्नुपर्ने बिडम्बना अहिले हामीले भोगिरहेका छौ । पूँजी बलिया भएका बैंकहरु आएपछि यस्तो बाध्यता हटेर जानेछ ।

निकट भबिस्यमा हुने लगानी सम्मेलनलाई ध्यान दिएर पनि सरकारले पुँजी बजारको विकासमा एकमिनेट समय खेर नफाली अगाडि बढिहाल्नुपर्ने अवस्था देखिन्छ । पूँजीबजार भनेको देशको मेरुदण्ड र अर्थतन्त्रको ऐना  हो । यसको तस्विर नै बिजोगलाग्दो र मायालाग्दो देखिए भोलिका दिनमा सम्मेलनमा आउने पाहुनाहरुले नेपालमा लगानीको सुरक्षा र लगानीकर्ताको प्रतिष्ठा छ भन्ने  कुरा कसरी पत्याउलान् ? 

अर्थतन्त्रको मेरुदण्ड बलियो नबनाई हाम्रो समृद्धिको यात्रा कसरी सफल हुन्छ रु हामी कसरी समृद्ध बन्न सक्छौ ? सम्बद्ध सबैले घोत्लिन आवश्यक छ । 

(लेखक सेयर बजारका सक्रिय लगानीकर्ता हुन् ।)