काठमाण्डौ । दोस्रो बजारमा हिमालयन डिष्टीलरी लिमीटेड(एचडिएल)को सेयर बिक्रीका विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले ‘माथिल्लो दवाब’कै भरमा दुई स्टक ब्रोकरहरुलाई स्पष्टीकरण सोधेको खुलेको छ । 

हिमालयन डिस्टीलरीको सेयर कारोबारमा ‘गडबडी’को आशंका गर्दै बोर्डले स्टक ब्रोकर नम्बर ४४ र ५३ लाई स्पष्टीकरण सोधेको विषय बाहिर आए पनि भित्री कुरा चाहि ‘माथिल्लो दवाब’लाई थेग्न नसकेर पत्र पठाइएको रहस्य बोर्डकै एक उच्च अधिकारीले खोलेका छन् । 

ती अधिकारीले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गर्दै बिजशालासँग भने–‘यो ठूलो इस्यू होइन । हामीलाई माथिबाट दवाब आयो, त्यही भएर बुझ्नलाई पत्र पठाएका हौ ।’ 

उनले ‘माथि’ भनेको को हो भन्ने विषय चाहि खुलाएनन् । ती अधिकारीले ब्रोकरहरुबीचको को पहिलो र उत्कृष्ट हुने भन्ने लडाईका कारण समेत यो घटना भएको हुनसक्ने दाबी गरेका छन् । ‘यो इस्यू ब्रोकरहरुको जूँगाको लडाईको उपज हो जस्तो लाग्यो ।’ ती अधिकारीले भने–‘छानबिन पनि भयो, तर कारबाही गर्ने कुनै आधार भेटिएन । यहाँ कदम–कदममा खेल छ हजूर ।’

केही समययता हिमालयन डिष्टीलरीको सेयर बिक्री गर्ने ब्रोकर नम्बर ४४ डाइनामिक मनी मेनेजर्स सेक्युरिटीज प्रालिका अध्यक्ष मधु जोशीले करिब २ लाख कित्ता सेयर बिक्रीका लागि अर्डर आएको र बिक्रीबापतको रकम दिइएको जानकारी दिए । ‘हामीलाई बोर्डले यो कम्पनीको सेयर बिक्रीबारे शंका गर्दै करिब ४ दिनअघि अर्डर फर्म र केवाइसी माग गर्दै पत्र पठाएपछि हामीले अविलम्ब अर्डर फर्म र केवाइसी पठाइदिएका छौं।’उनले भने–‘बिक्री गर्ने भन्ने अर्डर आयो, हामीले बेचेर पैसा दियौं । यो भन्दा बढी कुरा हामीलाई कसरी थाहा हुन्छ र ?’ 

ब्रोकर नम्बर ५३ इन्भेष्टमेन्ट मेनेजमेन्ट नेपालका कार्यकारी निर्देशक सचिन्द्र पाण्डेले पनि सेयर बिक्रीको अर्डर आएपछि बेचेको बिजशालासँग बताए ।

नियामक धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए । 

पछिल्लो समयमा ब्रोकर नम्बर ४४ ले आक्रामक ढंगले व्यवसाय बढाइरहेको छ र यसैलाई रोक्नका लागि कुनै विरोधी ब्रोकरले आधारहीन पोल लगाएको हो कि भन्ने शंका समेत बोर्डकै अधिकारीहरुले गरेका छन् । ती अधिकारीले भने–‘छानबिनको क्रममा पोल लगाइएजस्तो कैफियत भेटिएन ।’

हिमालयन डिष्टीलरीले आक्रामक रुपमा व्यापार गरी एक आर्थिक वर्षमै २ पटक लाभांश लगानीकर्ताहरुलाई वितरण गर्न सफल रहेको र यो कम्पनीको उत्पादनको माग समेत बजारमा अधिक छ । लगातार आकर्षक लाभांश दिने कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । सेयरको सप्लाई कम भएका कारण समेत यो कम्पनीको सेयर किन्न लगानीकर्ता लालायित देखिन्छन् ।