काठमाण्डौ । दोश्रो बजारको हटकेक स्क्रीप्ट(ब्लुचिप सेयर) हिमालयन डिस्टीलरीको नाफामा कोरोना प्रभाव देखिएको छ । 

यो कम्पनीले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ४६ करोड ६० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा ५३ करोड ७० लाख रहेको थियो । यसरी गत वर्षको तुलनामा हिमालयन डिस्टीलरीको खूद नाफा १३.२१ प्रतिशतले घटेको देखिएको छ । 

कम्पनीको संचालन मुनाफा समेत घटेको छ । अघिल्लो वर्ष ८१ करोड ५६ लाख रहेको यस्तो मुनाफा घटेर ७० करोड ४८ लाखमा सीमित बन्न पुगेको छ । 

यो कम्पनीको अघिल्लो वर्ष १ अर्ब ५७ करोड रहेको ग्रस प्रफिट घटेर १ अर्ब १८ करोडमा सीमित बन्न पुगेको छ । 

कम्पनीले आफ्ना विभिन्न उत्पादनको बिक्रीबाट २ अर्ब ३४ करोड आम्दानी गरेको छ । यस्तै, त्यस्ता उत्पादन बिक्रीका लागि १ अर्ब ८ करोड खर्च गरेको छ । उत्पादन खर्च ६ करोड ८१ करोड देखिएको छ । 

अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विभिन्न उत्पादन बिक्रीबाट ३ अर्ब १२ करोड आम्दानी गरेको थियो भने ती उत्पादन बिक्री गर्दा १ अर्ब ४१ करोड खर्च भएको थियो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८०.५७  रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १३९.२६ रुपैयाँको उचाईमा थियो । 
यो अवधिमा पीई रेसियो १९.८५ गुणा, प्रतिसेयर नेटवर्थ २१६.७३ रुपैयाँ र तरलता अनुपात १.९५ गुणा यकाम भएको छ । 

सरकारले लगाएको १२० दिन लामो लकडाउनका कारण यो कम्पनीबाट उत्पादित विभिन्न ब्राण्डका मदिराहरु बिक्री ठप्प हुँदा त्यसको असर वित्तीय विवरणमा देखिएको हो । यस्तै, नेपाल सरकारले यस अवधिमा जारी गरेको मदिरा बिक्री वितरण सम्बन्धी नीतिका कारण उद्योगका उत्पादन तथा बिक्री वितरणमा उल्लेख्य ह्रास आएको कम्पनीको भनाई छ । 

यो प्रतिष्ठानबाट उत्पादन गरी बजारमा लोकप्रियता पाएको गोल्डेन ओक नामक ब्राण्डको मदिरा बिक्रीलाई प्रभाव पार्न र उपभोक्तालाई झुुक्याउनका लागि त्यही ब्राण्डको कपी गरेर अरुले उत्पादन गरी आफ्नो व्यवसायमा असर पारिरहेको समेत कम्पनीको प्रष्टोक्ति छ ।