काठमाण्डौ । गत शनिबार काठमाण्डौका व्यस्त क्षेत्रकै एटीएम ह्याक गरी ३ करोड बढी रकम चोरी प्रकरणको सुक्ष्म अनुसन्धान गर्नका लागि सिंगापुर फरेन्सि इन्भेस्टिगेटर टोली बुधबार राति नेपाल आइपुगेको छ । टोलीले आज बिहीबारबाट यो प्रकरणमाथि अनुसन्धान सुरु गर्नेछ ।

चिनियाँहरुको सहभागितामा भएको नेपाली बैंकहरुको एटीएम ह्याक प्रकरणको यथार्थ पत्ता लगाउन नेपाली अनुसन्धानकर्ताहरुले नसकेपछि सिंगापुरबाट २ जनाको टोली मगाइएको हो । सिङ्गापुरका २ जना फरेन्सिक इन्भेष्टिगेटरले बिहीबारदेखि एटीएम ह्याक प्रकरणको सुक्ष्म अनुसन्धान थाल्ने नेपाल इलेक्ट्रिोनिक पेमेन्ट सिस्ट्म्स (नेप्स) ले जनाएको छ ।

पीसीआई काउन्सिल (पेमेन्ट कार्ड इन्डष्ट्री) र भिजाले समेत मान्यता दिएका सिंगापुरका दुई अनुसन्धानकर्ता बुधबार नेपाल आइसक्ने र बिहीबारदेखि काम थाल्ने नेप्सका सीइओ प्रवीण क्षेत्रीले जानकारी दिए। अनुसन्धानको समय  २–४  दिन वा सोभन्दा बढी लाग्न सक्ने उल्लेख गर्दै सीइओ क्षेत्रीले बिजशालासङ्ग भने–‘कम्प्लेक्सीटिले नै समय निर्धारण गर्छ ।’

नेप्सकै गम्भीर लापरबाहीले बैंकहरुको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोरिएको विषय बाहिर आइरहेको छ । नेप्सको भर परेका बैंकहरुको पैसा चिनियाँहरुले उडाएपछि उनीहरुले नेप्सले नै आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने विषय उठाइरहेका छन् ।

यो विषयमा नेप्सका सीइओ क्षेत्रीले समस्या बुझेपछि बोर्ड बैठक गरी आवश्यक निर्णयमा पुगिने जानकारी दिए । ‘भारतका एटीएमबाट पैसा निकाल्दा जेन्यून ग्राहकको पनि कारोबार भएको देखिन्छ,यसै भन्न सकिन्न ।’ क्षेत्रीले भने ।

पैसा निकाल्ने क्रममा भिजाले नेप्सको एप्रूभल लिएको दाबी समेत गरिरहेको तर नेप्ससङ्ग रेकर्ड नभएको क्षेत्रीको भनाइ छ।अनुसन्धानमा नेप्स दोषी ठहरिए र नेपाल राष्ट्र बैंकले कुनै सजाय तोके भोग्न तयार रहेको समेत उनको प्रष्टोक्ति छ ।