काठमाण्डौं । विगत लामो समयदेखि बैंकिङ करिअरमा रमाइरहेका प्रताप सुवेदी कृषि विकास बैंक(एडीबिएल)का डेपुटी सीइओ हुन् ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका ११ सिल्मी घर भएका सुवेदी हाल कीर्तिपुरका बासिन्दा हुृन् ।

केटाकेटी छँदा दशैंका बेला मामाघर गएको र काकाहरुले पिङ हालेको, रंगीचंगी कपडामा सजिँदै मीठा परिकार बनाएर खाएको, खसी काटेको लगायतका घटनाहरु सुवेदी सम्झन्छन् । 

अहिलेसम्म मद्यपान नगरेका सुवेदी मांसाहारी भोजन गर्छन् ।

मन्दिरमा गई पूजाअर्चना, चण्डीपाठ गर्दै पारिवारिक जमघट र भेटघाटलाई दशैंको आगमनले ताजा समेत बनाउने हुनाले सुवेदीलाई दशैं औधी रमाइलो लाग्ने गर्छ । सुवेदी ठूलो परिवारमा बस्दै आएको सुनाउँछन् । 

दशैंको टीका लगाउन गाउँमा रहेका चौतारीमा सबै भेला हुने र रोलक्रम अनुसार नै गाउँको सिनियर मान्छेले टीका लगाइदिने प्रचलन रहेको सुवेदीको भनाइ छ । 

अहिलेसम्मका सबै दशैंहरु स्मरणीय नै रहेको उल्लेख गर्दै सुवेदीले ३ वर्षअघि बुवासँग टीका लगाएको पल भने  जीवनमै स्मरणीय रहेको उनको भोगाइ छ । कारण सो दशैं नै सुवेदीको बुवाको अन्तिम दशैं भएकाले दुखद नै भए पनि स्मरणीय रहेको उनी सम्झन्छन् ।

गाउँमा गएर पुराना दिनहरु यादगार बनाउने र रमाइलो गर्ने उत्साहका साथ जन्मथलो जाने सुवेदी बताउँछन् ।