काठमाण्डौ । एशियाली विकास बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदरको यसअघिको प्रक्षेपणमा संसोधन गर्दै ४.९ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ ।  

एशियाली विकास बैंक(एडीबी)ले बुधबार ‘एशियन डेभलपमेन्ट आउटलुक २०१८’ सार्वजनिक गर्दै यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको हो । 

यसअघि एडीबीले यो वर्षको आर्थिक वृद्धिदर ४.७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । आफ्नै प्रक्षेपणमा संसोधन गरी ०.२ प्रतिशत बढाएर नयाँ रिपोर्ट सार्वजनिक गरे पनि नेपाल सरकारको प्रक्षेपणभन्दा एडीबीको प्रक्षेपण निकै कम हो । 

नेपाल सरकारले बजेटको मध्यावधि समीक्षामार्फत आर्थिक वृद्धिदरको लक्ष्य ७.२ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा सीमित गरिदिएको थियो । 

एडीबीले सन् २०१७ मा भने नेपालको आर्थिक वृद्धिदर ६.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । अघिल्लो वर्षको तुलनामा २०१८ मा नेपालको आर्थिक वृद्धिदरमा २ प्रतिशतले कमी आउने एडीबीले विश्लेषण गरेको हो । उसले वृद्धिदर घट्नुुको मुख्य कारण बाढीका कारण तराई लगायतका क्षेत्रमा घटेको धान उत्पादन भनेको छ । उसका अनुसार २०१७ को तुलनामा नेपालको धान उत्पादनमा २०१८ मा १.५ प्रतिशतले कमी आउने संभावना छ। 

२०१८ मा नेपालको औद्योगिक क्षेत्रको वृद्धिदर भने ६.४ प्रतिशत रहने एडीबीको प्रक्षेपण छ । यस्तै, सेवा क्षेत्रको वृद्धिदर ५.५ प्रतिशत हुने अनुमान सार्वजनिक गरिएको छ । 

एडीबीले २०१७ को तुलनामा २०१८ मा महंगी समेत बढ्ने प्रक्षेपण सार्वजनिक गरेको छ । २०१७ मा ४.५ प्रतिशत रहेको नेपाली मुद्रास्फिति दर बढेर २०१८ मा ५.५ प्रतिशत पुुग्नसक्ने एडीबीको प्रक्षेपण छ ।

एडीबीले सन् २०१९ का लागि नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुनसक्ने प्रक्षेपण समेत सार्वजनिक गरेको छ । तर, त्यसका लागि राम्रो मनसुन हुनुुपर्ने शर्त समेत राखिएको छ । सन् २०१९ मा नेपालको जीडीपी ग्रोथ बढ्ने मुख्य कारणको रुपमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको योगदानलाई समेत जोडिएको छ । 

यस्तै, सन् २०१९ मा नेपालको वार्षिक मुद्रास्फिति दर ६ प्रतिशत रहने प्रक्षेपण समेत सार्वजनिक गरिएको छ ।