काठमाण्डौ । सरकारको ९९.२६ प्रतिशत स्वामित्व रहेको एनआइडिसी डेभलपमेन्ट बैंक र सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकबीच मर्जरका लागि १ बराबर १ को अनुपातमा सेयर स्वाप  रेसियो कायम भएसँगै एनआइडिसीका साधारण सेयरधनीलाई गज्जबको अफर प्रस्ताव गरिएको छ । 

एनआइडिसी डेभलपमेन्ट बैंकले आगामी माघ १९ गते विशेष साधारणसभा आह्वान गर्दै राष्टिय वाणिज्य बैंकसँग १ बराबर १ को सेयर स्वाप अनुपातमा गाभिन लागेको उल्लेख गरी सो क्रममा सेयर लिन नचाहने सर्वसाधारण सेयरधनीलाई प्रतिकित्ता ४४८४.३० रुपैयाँ नगद भुक्तानी दिने अफर सार्वजनिक गरेको हो । बैंक स्रोतका अनुसार एनआइडिसीका साधारण सेयरधनीले मर्जरप्रति तीव्र असन्तुष्टि जनाई यसअघि कतिपय प्रक्रिया नै अवरुद्ध गरिदिएपछि उनीहरुलाई बैंकले सेयरको साटो नगद दिएर विदा गर्ने अफर ल्याएको हो ।

एनआइडिसी डेभलपमेन्ट बैंकमा सर्वसाधारणको ३० हजार ९ सय १० कित्ता सेयर रहेको छ । यी सेयरका धनीले सेयरको साटो पैसा लिन चाहेमा संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायीत्वको मूल्यांकनका आधारमा प्रतिकित्ता ४४८४.३० रुपैयाँ तोकिएको बताइएको छ । 

अर्थ मन्त्रालय स्रोतका अनुसार २०७३ माघबाट सुरु भएको राष्टिय वाणिज्य बैंक र एनआइडिसी बैंकबीचको मर्जर अन्तिम चरणमा पुगेको छ । 

हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्तापूँजी ८ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने एनआइडिसीको ४१ करोड ५८ लाख रुपैयाँ रहेको छ । एनआइडिसीको जगेडाकोष चाहि निकै मजबुत रहेको छ । जगेडाकोषमा ३ अर्ब बढी रकम सञ्चित रहेको छ । एनआइडिसीका देशका निकै आकर्षक स्थानमा थुप्रै अचल सम्पत्ति समेत रहेका छन् ।

२०७३ माघ १४ गते बसेको क्याबिनेटले एनआईडिसि र राष्ट्रिय वाणिज्इ बैंकको मर्जरलाई स्वीकृति दिएको थियो । यी दुई संस्थाले भदौ १२ गते एक सम्झौता गर्दै माघ १ गतेदेखि एकीकृत कारोबार थाल्ने बताएका थिए, तर, सेयरधनीकै अवरोध र कर्मचारीको असहयोगका कारण पूर्व निर्धा्रित मितिमा कारोबार सुरु हुन सकेन । केही ढिलो भए पनि मर्जरको सबै प्रक्रिया पूरा गरेपछि एनआइडिसीले विशेष साधारणसभा डाकेर प्रक्रियालाई टुंग्याउन खोजेको हो ।