काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष तथा भेटेरान बैंकर पृथ्वीबहादुर पाँडेले आगामी चैतसम्म वाणिज्य बैंकहरुको स्प्रेड दर . प्रतिशत कायम गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशन संसोधन नभए नेपालको बैंकिङ उद्योग ध्वस्त हुने चेतावनी दिएका छन् । 

पुराना बैंकर समेत रहेका उनले इन्भेष्टमेन्ट बैंकको साधारणसभामा बोल्ने क्रममा यस्तो चेतावनी दिएका हुन् । 

‘नेपाल राष्ट्रबैंकले आगामी असारसम्ममा वाणिज्य बैंकहरुको स्प्रेडलाई .४ प्रतिशतमा सीमित गर्न भनेको छ ।’ उनले भने–‘यदि यो नियममा संसोधन भएन भने आगामी वर्षपछि बैंकहरुमा डिजास्टर हुनेछ ।’ 

उनले स्प्रेडको यो नियम मौद्रिक नीतिमार्फत आएलगत्तै पनि आफूले ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई लिएर नेपाल राष्ट्रबैंक गएको र गभर्नरलाई बैंकिङ उद्योग नै ध्वस्त हुने खालको निर्देशनबाट पछि हट्न सुझाएको स्मरण गरे । 

‘यो निर्देशनले बैंकहरुको रिटर्न अन इक्वीटी झरेर १० प्रतिशतमा सीमित हुनेछ । १० प्रतिशतको आरओई मात्र हेरेर किन बैंकमा लगानी गर्ने ?’ उनले भने–‘बरु म बैंकिङबाटै बाहिरिन्छु, यहाँको पैसा अन्यत्र लगानी गर्छु । राज्यको भलो हुन्छ भने र राज्य चाहन्छ भने मेरो सबै लगानी डोनेट(दान) गर्न पनि तयार छु भनेको थिएँ । त्यसबेला स्प्रेडमा केही संसोधन होला भन्ने लागेको थियो, तर पुस बितिसक्दा समेत त्यसमा केही आएन ।’

उनले विदेशको स्प्रेड रेट हेरेर त्यहीँको सिको गर्न खोजिएको तर्फ संकेत गर्दै भने–‘विदेशको इकोनोमीको साइज तथा बैंकहरुको कारोबार नै ट्रिलियन ट्रिलियनको हुन्छ । नेपालको इकोनोमी त भर्खरे साइकलबाट मोटरसाइकल इकोनोमीमा रुपान्तरण भएको छ। यहाँको स्प्रेडमा विचार गर्नुपर्छ ।’ 

उनले कतिपय नियामकीय व्यवस्थाका कारण बैंकहरुको खर्च मात्र बढ्ने काम भएको, बैंकमा लगानी गर्नेहरुको लगानीको सुरक्षाको सवालमा राष्ट्रबैंक र सरकार संवेदनशील नभएका दाबी समेत गरे । 

मेगा मर्जरको योजना
उनले सेयरधनीहरुको सुझावको सम्बोधन गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक ‘मेगा मर्जर’को पक्षमा रहेको दाबी समेत गरे । निकै साना फाइनान्स कम्पनी उठाइरहेको इन्भेष्टमेन्ट बैंकका अध्यक्ष रहेको पाँडेले भने–‘काठमाण्डौमा थपिने केही शाखा र कर छुटको सुविधा उपभोगका लागि मात्र हामीले साना संस्थालाई लिइरहेका हौ । हाम्रो योजना मेगा मर्जरमै जाने हो ।’ 

उनले केही ठूला बैंकसँग कुराकानी भइरहेको र निकै चाँडै नेपाल इन्भेष्टमेन्ट बैंक ‘मेगा मर्जर’को सम्झौता गर्न पुग्ने भन्दै सेयरधनीलाई आश्वस्त पारे । 

प्रमोटरहरुको इगो समस्या र आफैं अध्यक्ष वा संचालक बन्नुपर्ने चाहनाका कारण वाणिज्य बैंकबीच मर्जर हुन नसकेको दाबी गर्दै आफूले सेयरधनीको हितमा हुने मर्जरका लागि पद त्याग्न समेत तयार रहेको घोषणा गरे । ‘ममा त्यो खालको इगो छैन । मेगा मर्जर हुन्छ र राम्रो संस्था आउँछ भने म अध्यक्ष पद नै पनि त्याग्न तयार हुनेछु।’ उनले भने–‘मर्जर सफल बनाउन अरुले पनि यो त्याग गर्नुपर्छ, नभए मर्जर नै हुँदैन ।’ 

सेयरधनीहरुले खराब अवस्थाको सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्तिको सम्झौता किन गरेको ? भनेर प्रश्न गरेका थिए । जवाफमा उनले भने–‘खराब संस्थालाई परल भ्यालूमा लिइएको होइन । सस्तोमा पाएर लिएका हौ । लिँदाको बेनिफिटहरु पनि हेर्नुहोला ।’ 

उनले ‘मेगा मर्जर’कै रणनीतिमा रहेकाले समेत अघिल्लो आर्थिक वर्षमा बैंकले शाखा सञ्जाल बिस्तारमा ध्यान नदिएको दाबी गरे । ‘शाखा बिस्तार गरेर के गर्नु, आखिरी मर्जरमा त जानु  नै छ, भोलि शाखाहरुको डूप्लीकेसनको अनावश्यक समस्या किन झेल्नु?’ उनले थपे–‘त्यही भएर हामीले ३ वटा शाखा मात्र बिस्तार गर्यौं ।’ 

उनले एकैठाउँमा दर्जन बैंकको एटीएम राख्ने, एउटै सहरमा सबै बैंकको शाखा खोल्ने लहरले खर्च अनावश्यक रुपमा बढाएकोले यसको कटौतिका लागि समेत बिग तथा मेगा मर्जर आवश्यक रहेकोमा जोड दिए । 

हिकअप्स हो, नआत्तिनु
उनले तनहुँ हाइड्रोमा काउण्टर बैंक ग्यारेण्टी बसेको पैसा तत्काल उठ्ने संभावना नभएका कारण बैंकलाई तत्काल समस्या परे पनि यसलाई सामान्य रुपमा बुझ्न समेत सेयरधनीलाई आग्रह गरे । ‘कहिलेकाही हिकअप्स आएजस्तै समस्या हो यो ।’ उनले भने–‘पैसा फिर्ता आउँछ, तर समय लाग्नसक्छ ।’ 
उनले सिएमसीसँग अन्तराष्ट्रिय अदालतमा मुद्धा चलिरहेको र उसका लागि दिइएको काउण्टर बैंक ग्यारेण्टी बापतको करिब १ अर्ब रुपैयाँ ढिलो चाडो फिर्ता आउने उल्लेख गर्दै भने–‘अर्को वर्ष नै नआउला, ३–४ वर्ष लाग्ला तर डूबेको पैसा फिर्ता आउँछ, ल्याउँछौ ढुक्क हुनुहोस्।’ 

उनले डूबेको ऋण फिर्ता आएपछि सेयरधनीले बम्पर लाभांश उपहारको रुपमा पाउने घोषणा समेत गरे । तर, उनले अबको समयमा बैंकबाट ३०–४० प्रतिशतको ग्यारेण्टीको आशा नगर्न पनि लगानीकर्तालाई आग्रह गरे । ‘यो लेभलको रिटर्न अब असंभव छ ।’ उनले थपे–‘यस्तो सपना नदेख्नुहोला ।’

मूल्य घटेको छ, किन्ने अवसर
अर्को एक प्रसंगमा उनले अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको दोश्रो बजारमा सेयर मूल्य घटेको उल्लेख गर्दै यस्तो बेलामा सेयर सस्तोमा किन्ने अवसर छोप्नुपर्ने सुझाए । ‘सधैं यस्तो हुँदैन, यति सस्तोमा हाम्रो बैंकको सेयर फेरि नपाइन सक्छ ।’ उनले थपे–‘त्यसकारण यो एउटा अवसर पनि हुनसक्छ, यसको सदुपयोग गर्न जान्नुपर्छ ।’ 

सिएमसीका लागि बैंक काउण्टर ग्यारेण्टी बस्दा डूबेको करिब १ अर्ब रुपैयाँको प्रोभिजन गर्नुपर्दा यसपटक लाभांश दर घटेको उनको स्वीकारोक्ति थियो । ‘त्यसका लागि करिब ९८ करोड प्रभिजिनमा राख्नु नपरेको भए यो वर्ष पनि लगानीकर्ताले १६ प्रतिशतको हाराहारीमा नगद लाभांश र १० प्रतिशत भन्दा बढी बोनस पाउने अवस्था बन्थ्यो ।’–उनले थपे । 

राम्रा बैंक कुन ?
उनले आफूले आफ्ना कर्मचारीलाई निर्देशन दिने क्रममा नवील बैंकलाई प्रतिस्पर्धी बैंकको रुपमा हेरेर अगाडि बढ्न भन्ने गरेको समेत खुलाए । ‘नवील बैंक साच्चिकै राम्रो बैंक हो ।’ उनले भने–‘राम्रोलाई राम्रो भन्न केको कञ्जुस्याई । त्यही भएर म साथीहरुलाई नवीलजस्तै बन्नुपर्छ भन्ने गरेको छु ।’ 

उनले एभरेष्ट बैंकलाई समेत ‘राम्रो बैंक’ भनेका छन् । यस्तै, पछिल्लो समय एनएमबी बैंक पनि राम्रो बैंकको रुपमा अगाडि आएको उनले दाबी गरे । 
सम्बोधनको सुरुवातमै उनले एनआइसी एशिया बैंकलाई भने घुमाउरो पारामा झटारो हाने । अधिकांश सेयरधनीले एनआइसी एशियाको उदाहरण दिंदै इन्भेष्टमेन्ट बैंक सो बैंकभन्दा पनि पछाडि परिसकेको भनेपछि त्यसको जवाफमा उनले भने–‘कुनै कुनै बैंकहरु अति तीव्र गतिमा अगाडि बढ्ने बेवकुफी गर्दैछन्, हामी त्यस्तो गर्ने पक्षमा छैनौ । त्यति ठूलो रिस्क लिन सकिन्न । र, तिनै केही नयाँ र अग्रेसिभ बैंककै लाइनमा तिमीहरु पनि हिँड्नुपर्छ भनेर नभनिदिनुहोला ।’

उनले सेयरधनीलाई स्ट्याण्डर्ड चार्टर्डजस्तै बन्न भन्दै आफूहरुलाई दवाब नदिन पनि सुझाए । ‘विदेशी बैंकसँग हामीलाई कृपया तुलना नगरदिनुहोला ।’–उनले थपे ।

कुटाकुटप्रति माफी
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभामा सेयरधनीबीच कुटाकुट भएको विषयमा उनले माफी समेत मागेका छन् । ‘मैले अहिलेसम्म बैंकको ३० वटा साधारणसभामा सहभागिता जनाए हुँला, यस्तो कहिल्यै भएको थिएन ।’ उनले भने–‘हात हाल्ने प्रवृति राम्रो भएन । मैले अध्यक्षता गरिरहेको सभामा यस्तो भयो, म माफी माग्न चाहन्छु। यस्तो प्रवृति त्याग्नुपर्छ ।’ 

सेयरधनीको प्रश्न–‘हाम्रो लाभांश घट्ने, कर्मचारीको चाहि बढ्ने ?’
यसैबीच, साधारणसभामा सहभागी बैंकका सेयरधनीहरुले बैंकले लगानीकर्तालाई दिने लाभांश दर घटेको, तर कर्मचारीको तलब, सुविधा बढेको भन्दै आपत्ति जनाए । ‘बैंकलाई समस्या परेको बेला कर्मचारीको तलब सुविधा चाहि किन बढाएको ?’ आक्रोशित हुँदै सेयरधनी शत्रुघन श्रेष्ठले भने–‘सीइओलाई ३ वटा सुरक्षागार्ड किन चाहियो ? बैंकमा २ डिजिएम र तीन असिस्टेन्ट डिजिएम किन चाहियो ? सेयरधनीको प्रतिफल घट्छ भने कर्मचारीले पाउने सुविधा र प्रतिफल पनि घट्नुपर्छ । घाटा जति चाहि हामीले मात्र व्यहोर्नुपर्ने ?’' 

उनले निजी क्षेत्रको बैंकमा एनआइसी एशिया निकै अगाडि बढिसकेको, तर इन्भेष्टमेन्ट बैंक दिनप्रतिदिन पछाडि परिरहेकोमा चिन्ता व्यक्त गरे । 

अर्का सेयरधनी कुवेर श्रेष्ठले सेयरधनीहरुको आशामा तुषारापात गर्दै बैंकले लाभांश दर ४० बाट घटाएर २० मा सीमित गराएको बताए । बैंकको खराब कर्जा समेत बढ्दै गएको चिन्ता व्यक्त गर्दै उनले कर्जा नोक्सानी पनि बढ्नु, संचालन नाफामा गिरावट आउनु र कर्मचारी खर्च बढ्नु अनिष्ठको संकेत भएको दाबी गरे । संस्था समस्यामा परेको बेला कर्मचारीले पनि योगदान र त्याग गर्न सक्नुपर्ने सुझाव र उदाहरण पेश गर्दै उनले भने–‘सिभिल बैकमा पनि यस्तै भएको थियो । बैंकलाई समस्या परेको बेला सीइओले किन १२ लाख तलब थाप्नुपर्ने भनेर हामीले प्रश्न गरेपछि सीइओ आफैं आएर अब म ६लाख मात्र खान्छु भन्नुभयो । यो त्याग यहाँका कर्मचारीहरुले गर्न सक्नु हुन्छ कि हुन्न ?’

अर्का सेयरधनी अमृत रेग्मीले एनआइसी एशिया आफ्नै प्रयासमा निकै अगाडि बढिसकेको र जनतालाई लिएपछि ग्लोबल आइएमई बैंक पनि अगाडि बढेको उल्लेख गर्दै यी दुईबाट केही सिक्न इन्भेष्टमेन्ट बैंकलाई आग्रह गरे । उनले बैंकले मर्जरको नीतिसहित अगाडि बढ्नुपर्ने सुझाव दिए । बण्ड कारोबार, एक्जिम बैंकिङ लगायतका क्षेत्रमा काम गर्नका लागि रणनीतिक साझेदार भित्र्याउन समेत तयार हुनुपर्नेमा जोड दिए।

सेयरधनी ब्यासकुमार शर्माले अहिले इन्भेष्टमेन्ट बैंक फ्लूबाट ग्रसित भएको उल्लेख गर्दै आगामी दिनमा हाइड्रोमा लगानी नगर्न आग्रह गरे।

डम्बरुबल्लभ घिमिरेले एनआइसी एशियाले असोजमै एजीएम गरेको, तर इन्भेष्टमेन्ट बैंकले पुस सकिन १ दिन बाँकी छँदा गरी छवि बिगारेको आरोप लगाए । उनले आगामी वर्षदेखि दशैंअघि नै एजीएम सकिसक्न आग्रह गरे । 

कतिपय सेयरधनीले भरपर्दो र बलियो सिस्टममा लगानी बढाई बैंकलाई सुरक्षित बनाउन समेत आग्रह गरेका थिए ।