काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको पावन अवसर पारेर नेपालमै पहिलोपटक सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पुर्याउने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ । 

बैंकले ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरुसामु ल्याएको हो ।

यस योजनाअन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ कार्य दिनभित्रै घरकर्जा सम्बन्धी निर्णय भइसक्ने व्यवस्था बैंकले गरेको छ । 

यो योजना अन्तर्गत घर कर्जा लिंदा ब्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्याङ्कन, बीमा वा कर्जा सूूचना लगायतका कुनै पनि दस्तुर/शुल्क नलाग्ने बैंकले जनाएको छ । 

साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नहुने बैंकको प्रष्टोक्ति छ । 

कर्जाका लागि अनलाइनबाटै बैंकको वेबसाइटमार्फत कर्जाका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यो योजनामा किस्ता वा ब्याज मात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार टर्मलोन र ओभरडाफ्ट कर्जा समेत प्रदान गरिने बताइएको छ । 

यस बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै अवधि सम्मको अवधि हुने गरी (अर्थात् २५ वर्षसम्मको अवधि हुने गरी) अत्यन्त सजिला विशेषताहरु समेत समेटी घर कर्जा र सवारी साधन कर्जाको कम्बो प्रोडक्टको रुपमा घर तथा सवारी साधन कर्जाको समेत व्यवस्था गरिएको छ । यसबाहेक पनि सवारी साधन कर्जाका लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क/दस्तुर नलिई सवारी साधनकर्जा उपलब्ध गराइने बैंकले बताएको छ ।

एनआइसीले यति धेरै सुविधा र विशेषता भएको होम लोनको प्रोडक्टलाई उत्कृष्ट र सर्वाधिक ग्राहकमैत्री भएको दाबी गर्दै यस्तो अफर ल्याउने एनआइसी नै पहिलो वाणिज्य बैंक रहेको दाबी गरेको छ । 

‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडी जोड्ने सपना’ भन्ने मूल नाराका साथ ल्याइएको यो योजना सीमित अवधिका लागि मात्र भएकाले मौकाको फाइदा उठाउन बैंकले ग्राहकहरुमा अपील गरेको छ । 

बैंकका प्रमुख सूचना अधिकारी रोशनकुमार न्यौपानेका अनुसार बैंकले समुन्नति बचत खातामा वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ । बैंकको हालसम्म १२५ शाखा कार्यालयहरु, ४ एक्स्टेन्सन काउण्टरहरु र ११९ एटीएम सञ्जाल सञ्चालनमा छन् । शाखा सञ्जाल, ग्राहक आधार र वासलातको आकार लगायतको दृष्टिकोणले एन आई सी एशिया बैंक देशकै अग्रणी वाणिज्य बैंकमध्येको एक हो ।