काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 

उनले विगत ९ महिनादेखि कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकलाई नेतृत्व दिइरहेका थिए । 

न्यौपाने देशका वाणिज्य बैंकहरुका सीइओमध्ये उमेर र नियुक्तिको समयको हिसाबले समेत सबैभन्दा कान्छा हुन् । देशकै ठूलो वाणिज्य बैंकको सीइओ बनेका न्यौपाने ३८ वर्ष मात्र पुगे । 

तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिएसँगै कामुको रुपमा बैंकलाई नेतृत्व दिएका न्यौपानेले ९ महिने अवधिमा निकै कुशलतापूर्वक काम गरेपछि संचालक समिति उनैलाई प्रमुख कार्यकारी अधिकृत बनाउन एकमत भएको हो । फलस्वरुप मंसिर १६ गते बसेको संचालक समितिको ३७९ औं बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत बनाउने निर्णय गरेको हो । 

न्यौपानेको नेतृत्वमा बैंकले विभिन्न वित्तिय परिसूचकहरुमा उत्कृष्ट रुपमा सुधार गर्दै निक्षेप, कर्जा तथा वासलातको आकार, शाखा तथा एटिएम सञ्जाल लगायतका परिसूचकमा नेपालकै सबैभन्दा ठूलो बैंकको पहिचान बनाइसकेको छ । 

आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको रुपमा तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, तथा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । न्यौपाने चार्टड एकाउण्टेण्ट समेत हुन् ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आइतबार नै बैंकका संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराए । 

नवनियुक्त प्रमुखकार्यकारी अधिकृत न्यौपानेले बैंकका समस्त ग्राहकवहरुलाई उत्कृष्ट, सरल एवं सुलभ बैकिङ्ग सेवा प्रदान गरीे समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय संकल्पले परिकल्पना गरेबमोजिम सबै सरोकारवालाहरुको सर्वाङ्गिण आर्थिक समृद्घिका लागि एक उत्कृष्ट बैंकको रुपमा एनआइसीलाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

यो बैंकको हाल देशभर १४ लाखको हाराहारीमा ग्राहक रहेका छन् । बैंकको कुल शाखा संख्या २६८ तथा एटीएम संख्या २८१ वटा छन् । यो बैंक देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक समेत हो ।