काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । 

बुधबार ललितपुर महानगरपालिका वडा नं २, सानेपा स्थित हेरीटेज गार्डेनमा सम्पन्न २१ औं साधारणसभाले संचालक समितिले प्रस्ताव गरे बमोजिक १० प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

बोनस शेयर वितरणबाट बैंकको साविक अधिकृत पूँजी ८ अर्ब ४ करोडलाई बढाएर ८ अर्ब ८४ करोड बनाउन, चुक्तापूँजी ८ अर्ब ३ करोडबाट वृद्धि गरी ८ अर्ब ८३ करोड पुर्याउन समेत साधारणसभाले स्वीकृति दिएको छ । 

साधारण सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेद नपारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदनसहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगदप्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि. र एनआईसी एशिया क्यापिटल लि. सहित को आ.व. २०७४/७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५/७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरेको छ ।