काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एनआइसी एशिया ग्रोथ फण्डले वार्षिक रुपमा न्यूनतम १६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । 

शुक्रबार साँझ एक  विज्ञप्ति प्रकाशित गर्दै फण्ड व्यवस्थापक एनआइसी एशिया क्यापिटलले औसतमा १६ प्रतिशत नगद लाभांश दिने अपेक्षा रहेको भन्दै लगानीकर्ताले त्यसभन्दा माथिकै रिटर्न समेत पाउनसक्ने बताएको हो । 

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलका अनुसार म्युचुअल फण्डको वार्षिक प्रतिफल पहिलो वर्ष १५.५७ तथा सातौं वर्षमा १६.३१ प्रतिशत हुने लक्ष्य लिइएको छ । 

औसतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफलभन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले सर्वसाधारणहरुको म्यूचुअल फण्ड प्रतिआर्कषण बढदै गहिरहेको छ । 

लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको सीइओ ढुंगेल बताउँछन् ।

एनआइसी एशिया क्यापिटलले यो योजनाका इकाईहरु यही माघ २ गते मंगलबारदेखि बिक्री खुल्ला गर्दैछ । उक्त फण्डको आकार १ अरब रुपैयाँको रहेको छ । जसमध्ये सोको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिनेछ । यो योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला हुनेछ । 

यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्तिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाईसम्म खरिद गर्नका लागि आवेदन गर्न सकिनेछ ।