काठमाण्डौ । आक्रामक सेवा बिस्तारको रणनीतिपछि देशकै ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल एनआइसी एशिया बैंकको सहायक कम्पनीले संचालन गरेको पहिलो म्युचुअल फण्डले सुखद सुरुवात गरेको छ । 

एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटलबाट संचालित पहिलो म्युचुअल फण्ड एनआइसी एशिया ग्रोथ फण्डको बैशाख मसान्तसम्मको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) १० रुपैयाँ ७ पैसा पुगेको हो । 

दोश्रो बजारको निरन्तरको गिरावटका कारण धेरै फण्डहरुको मूल्य घटेर १० रुपैयाँ तल आएको बेला एनआइसी एशिया ग्रोथ फण्डको भने १० रुपैयाँ माथि पुगेको हो । 

म्युचुअल फण्डहरुको भीडमा एनआइसी एशिया ग्रोथ फण्ड नयाँ स्किम हो । 

यो फण्डको चैत मसान्तसम्मको न्याभ ९ रुपैयाँ ९९ पैसा रहेको थियो । 

समीक्षा अवधिसम्म यो फण्डले सूचिकृत सेयरमा ८ करोड ९३ लाख बढी लगानी गरेको छ भने सूचिकृत नभएको सेयरमा १० लाख ३२ हजार, मुद्धती निक्षेपमा १२ करोड लगानी गरेको छ । बैंक मौज्दातमा ६६ करोड ५७ लाख रुपैयाँ रहेको छ । 

यो अवधिमा स्किमले १ करोड ५ लाख बढी ब्याज आम्दानी गरेको देखिएको छ । 

अघिल्लो महिनाको मसान्तसम्म १० लाख ९६ हजारले घाटामा रहेको यो कम्पनीको बैशाख मसान्तसम्मको कुल नाफा ५९ लाख १० हजार ९ सय ९४ रुपैयाँको उचाईमा पुगेको छ । 

समीक्षा अवधिसम्म यो स्किमले २० वटा कम्पनीको १ लाख ५५ हजार ६ सय ३५ कित्ता सेयरमा लगानी गरेको छ । सबैभन्दा बढी कित्ता एनएमबी बैंकको २९ हजार ९ सय १० मा लगानी गरेको छ ।