काठमाण्डौ । एनआइसी एशिया बैंकले पनि भाइबर बैकिङ्ग सेवाको सुरुवात गरेको छ ।

यो भाइबर बैकिङ्ग सेवा ग्राहकहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याब्लेट, कम्प्युटर लगायतबाट प्रयोग गर्नसक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ । 

भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर अप्लीकेसनमार्फत एनआइसी एशिया बैंकको पब्लिक अकाउण्टलाई सब्सक्राइब गरी यसबाट आवश्यक जानकारी लिन सकिने बताइएको छ । 

भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एन आई सी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम सञ्जालहरु बारे जानकारी, अनलाइन खाता खोल्न, कर्जा लिने  योग्यताको बिषयमा जान्न, बैकिङ्ग समय सम्बन्धी जानकारी, बिदेशी बिनिमयदर र ब्याजदर सम्बन्धी जानकारी एवं बैंक सम्बन्धी अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् ।

यस्तै, एनआइसी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएका ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्ने बताइएको छ । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४१ एटिएम एवम् ४ एक्स्टेन्सन  काउन्टरहरुमार्फतसेवा प्रदान गर्दै आइरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना पनि अगाडि सारेको छ ।