काठमाण्डौ । हतारो र अस्वस्थ प्रतिस्पर्धाको परिणाम के हुन्छ भन्ने कुरा सिबीआइएल क्यापिटल लिमीटेडका संचालकहरुले भोगिरहेका छन् । यो कम्पनीले निश्कासन गरेको पहिलो सामूहिक लगानीकोष(म्युचुअल फण्ड) सिटिजन म्युचुअल फण्ड–१ ले निश्कासन गरेको १ अर्ब रुपैयाँको १० करोड इकाईमा दोश्रो दिनसम्मको आवेदनको अवस्था लाजमर्दो देखिएको छ । ऊसँगै एनआइसी एशिया क्यापिटलले निश्कासन गरेको एनआइसी एशिया ग्रोथ स्किममा भने उत्साहजनक रुपमा आवेदनहरु परिरहेका छन् ।

यी दुवै फण्डहरुले माघ २ गतेदेखि १० रुपैयाँ दरका १० करोड दरका इकाईहरुको बिक्री खुलाएका थिए । एनआइसी एशियाले सिटिजनकोभन्दा अगाडि नै फण्ड निश्कासनको अनुमति पाए पनि सिटिजन क्यापिटल लिमीटेडले अस्वस्थ प्रतिस्पर्धा गर्दै एनआइसीलाई टक्कर दिन खोजेको थियो । तर, यसको मूल्य एनआइसीभन्दा सिटिजनलाई नै महङ्गो साबित पर्ने देखिएको छ । 

सिटिजन म्युचुअल फण्ड–१ मा दोश्रो दिनसम्ममा ४ करोड ४८ लाख रुपैयाँ मात्रको आवेदन परेको छ । यो फण्डमा देशभरबाट ३ हजार १ सय ३४ वटा मात्र आवेदन परेका छन् । 

तर, एनआइसी एशिया ग्रोथ स्किमको आइपीओमा दोश्रो दिनसम्म २५ करोडभन्दा बढीको आवेदन परिसकेको छ । यो स्किममा देशभरबाट ५ हजार बढीले आवेदन दिइसकेका छन् । 

सिटिजनको किन भयो यति कन्तबिजोग ?
१ अर्ब मूल्यका दुवै म्युचुअल फण्डहरुलाई एउटै मितिमा इकाई निश्कासनको अनुमति दिने नियामकहरुका कारण समेत दुवै फण्डहरुले सकस भोग्नुपर्ने अवस्था सिर्जना भएको छ । तर, दोश्रो दिनसम्मको परेको आवेदनलाई विश्लेषण गर्दा एनआइसी एशिया ग्रोथ स्किममा माघ ८ गतेभित्र नै माग अनुसारको आवेदन पर्ने देखिन्छ । तर, सिटिजन म्युचुअल फण्डको अवस्था भने निकै नै दयनीय देखिन्छ । 

अहिले लगानीकर्ताहरुसँग लगानीयोग्य पूँजी पर्याप्त नरहेको सकसपूर्ण अवस्था हो । बैंकहरुबाट समेत लगानीकर्ताले सहजै ऋण नपाइरहेको अवस्था छ । यस्तो अवस्थामा समेत एनआइसी एशियामा परेको आवेदनलाई निकै उत्साहप्रद मान्नुपर्छ । 

अहिलेको अवस्था हेरेर विश्लेषण गर्ने हो भने सिटिजनको म्युचुअल फण्डमा छिटोमा माघ ८ गतेभित्र आवेदन दिनुपर्ने समयभित्र सबै इकाई बिक्री हुने संभावना न्यून छ । यो फण्डमा ढिलोमा आवेदन दिने मितिसम्म पनि सबै इकाईका लागि आवेदन नपर्ने उत्तिकै संभावना छ । आखिर सँगैको एनआइसी एशिया ग्रोथ स्किममा लगानीकर्ताको यति राम्रो आकर्षण देखिँदा सिटिजनको अवस्था चाहि यति बिजोग किन भयो होला ?

स्रोतहरुका अनुसार म्युचुअल फण्डको व्यवस्थापन गर्ने कम्पनी र त्यसलाई नेतृत्व गर्नेहरुलाई समेत हेरेर, दुवै क्यापिटलले तयार गरेका विज्ञ समूह समेतलाई विचार गरी बाठा लगानीकर्ताले लगानी खन्याइरहेका छन् । 

एनआइसी एशियाबैंक र उसको सहायक कम्पनी क्यापिटल पछिल्लो समय जल्दोबल्दो कम्पनी हुन् । वाणिज्य बैंकमा एनआइसी एशियाको आक्रामक सेवा बिस्तार नीतिले धेरै हदसम्म काम गरेको देखिन्छ भने क्यापिटलको व्यवस्थापन तहमा नेतृत्व गर्नेहरु समेत राम्रो बित्तीय शिल्प भएकाहरु छन् । एनआइसी एशिया क्यापिटलको विज्ञ समूह समेत यथार्थमा आधारित रहेर बित्तीय बजारको विश्लेषण गर्ने क्षमता राख्ने खालको छ । 

तर, सिटिजन क्यापिटलको व्यवस्थापनको नेतृत्व गर्ने व्यक्ति विवादास्पद छन्, उनीमाथि मिटरब्याजको  धन्दामा संलग्न भएको जस्ता संगीन आरोप लाग्ने  गरेको छ । यहीकारण उनीहरुलाई लगानीकर्ताले सहजै पत्याउनसक्ने अवस्था रहेको देखिदैन । राम्रो बित्तीय शिल्प नभएका व्यक्तिहरु सिटिजन क्यापिटलको उपल्लो तहमा रहने बिषयले समेत यसकै व्यवस्थापनमा संचालन हुन लागेको सामूहिक लगानीकोषको आइपीओमा अपेक्षित आवेदन परेको नदेखिएको स्रोतहरु बताउँछन् ।