काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले साउन ६ गते सोमबारको दिनदेखि ‘एनआइसी एशिया डिबेञ्चर २०८३/८४’ बिक्रीको लागि सार्वजनिक आह्वान गरेको छ । 

वार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेको रु. १,००० प्रति कित्ताको दरले ४४ लाख कित्ता रहेको रु ४ अर्ब ४० करोडको ऋणपत्रको व्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने र ऋणपत्रको अवधि ७ वर्षको हुने बैंकले जनाएको छ । 

ऋणपत्रको निष्काशन रकम रु. ४ अर्ब ४० करोडको ६० प्रतिशत अर्थात् रू. २ अर्ब ६४ करोड व्यक्तिगत तवरमार्फत हुनेछ भने ४० प्रतिशत अर्थात रू. १ अर्ब ७६ करोड सर्वसाधारण लगानीकर्ताको लागि सार्वजनिक निष्काशन विधिमार्फत हुनेबताइएको छ । 

ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

ऋणपत्र खरीद गर्न चाहनेले साउन ६ देखि छिटोमा ९ गतेसम्म र ढिलोमा भदौ ३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

एनआइसी एशियाको यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिंग्स नेपाल लिमीटेडबाट कम जोखिम रहेको जनाउने केयर एनपी ए ग्रेडिङ प्रदान गरेको छ । 
अर्को क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले इक्रा एनपी आइआर ए माइनसको ग्रेडिङ प्रदान गरेको छ । यस्तो रेटिङ पाउने संस्थालाई समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता भएको तथा कर्जा जोखिम न्यून रहेको संस्थाको रूपमा लिइन्छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण गरिने उक्त ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि एक महत्वपूर्ण माइलस्टोन हुने बैंकको दाबी छ । 

मुलुकको हालको दीर्घकालीन लगानीको लागि वित्तीय साधनहरु अत्यन्त कम मात्र उपलब्ध रहेको अवस्थामा दीर्घकालीन रुपमा उच्चतम् प्रतिफल प्राप्त हुने, प्रतिफलको सुनिश्चितता हुने एवं सुरक्षित लगानीको लागि विरलै प्राप्त हुने यो उत्कृष्ट अवसर भएकोले यसबाट अत्याधिक फाइदा उठाउन सकिन्छ । 
हाल यो बैंकको देशभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । 

बैंकको कुल निक्षेप करिब रू. १८१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १५१ अर्ब सहित निजी क्षेत्रका बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । १७ लाखभन्दा बढी ग्राहक बैंकसँग आबद्ध छन् ।