काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमीटेडको व्यवस्थापनमा संचालित पहिलो म्युचुअल फण्ड ‘एनआइसी एशिया ग्रोथ फण्ड’ले इकाईधनीलाई १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

एनआइसी एशिया क्यापिटलको साउन १० गते बसेको संचालक समितिको ६१ औं बैठकले आर्थिक वर्ष २०७५ ७६ का लागि ग्रोथ फण्डका इकाईधनीलाई १० प्रतिशत(करसहित) नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो हिसाबले यो स्किमका इकाईधनीलाई कुल ८ करोड ३५ लाख २० हजार रुपैयाँ नगद वितरण गरिने कम्पनीले जनाएको छ । 

पहिलो म्युचुअल फण्डका इकाईधनीलाई लाभांश वितरणको घोषणा गरेको एनआइसी एशिया क्यापिटलले आफ्नो दोश्रो म्युचुअल फण्डको रुपमा एनआइसी एशिया ब्यालेन्स फण्डको साउन ८ गतेदेखि निश्कासन गरेको छ । प्रति इकाई मूल्य रु. १० का दरले १२ करोड ५० लाख इकाई निश्कासन गरिएको हो । 

दोश्रो म्युचुअल फण्डका इकाईधनीलाई समेत पहिलो वर्षदेखि नै लाभांश वितरण गर्ने क्यापिटलले यसअघि नै घोषणा गरिसकेको छ ।