काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई दशैं खर्चको रुपमा नगद लाभांश वितरण थालेको छ। 

बैंकको असोज १० गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न २२ औं वार्षिक साधारणसभाले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेसँगै नगद लाभांश सेयरधनीको खातामा जम्मा हुन थालेको हो । 

संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा सम्पन्न साधारणसभाले ९७ करोड ६४ लाख १४ हजार ७५१ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । यो नगद लाभांश करसहितको हो । 

साधारणसभाबाट नगद लाभांश वितरणको प्रस्ताव पारित भएसँगै बैंकमा डिम्याट खाता हुने सेयरधनीहरुलाई शुक्रबारदेखि नै नगद लाभांश भुक्तानी सुरु गरिसकिएको र डिम्याट खाता नहुने सेयरधनीहरुले यथाशीघ्र डिम्याट खाताका लागि एनआइसी एशिया क्यापिटल वा बैंकको आफू नजिकको शाखामा सम्पर्क गर्नुपर्ने बताइएको छ । 

शुक्रबार सम्पन्न सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पारित गरेको छ । योसँगै बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ ।