काठमाण्डौ । एनआइसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने प्रमुख उद्देश्यका साथ एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ ।

नेपालमा हालसम्म संचालित सामूहिक लगानी कोषहरुको अधिकांश रकम शेयर बजारमा लगानी केन्द्रीत गर्ने उद्देश्यका साथ संचालन भएको पाइन्छ । पछिल्लो समयमा ऋणपत्रमा समेत लगानी गर्ने अत्याधिक सम्भावना देखिएको तथा जहाँ लागनी गर्दा जोखिम अत्यन्तै न्यून रहेको हुँदा यो योजना संचालनमा ल्याउन लागिएको जानकारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रमेन्द रायमाझीले दिएका छन् । 

क्यापिटलले संचालन गर्न लागेको यो योजना नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरुमध्ये अत्यन्तै सुरक्षित तथा भिन्न रहेको र धितोपत्र बजारको उतारचढाबवाट कम प्रभावित हुने क्यापिटलको प्रष्टोक्ति छ । ‘यस प्रकारका सामूहिक लगानी योजनाहरुमा लगानी गर्दा लगानीकर्ताहरुलाई कम जोखिम तथा निरन्तर रुपमा उचित लाभ लिन सक्ने देखिन्छ ।’ क्यापिटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘साथै बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेको हुँदा यस्ता फण्ड संचालनमा आउदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने देखिन्छ ।’

हाल एनआइसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना “एन आई सी एशिया ग्रोथ फण्ड” र “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ । यसका साथै एनआईसी एशिया क्यापिटल लिमिटेडल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

एनआईसी एशिया क्यापिटल एक मात्र आइएसओ सर्टिफाइड क्यापिटल हो ।