काठमाण्डौ । लघुवित्त कम्पनीमध्येकै ठूलो एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको आईपीओ शनिवार बिहान बाँडफाँड हुने भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले डिजिटल पद्धतिबाट आइपीओको बाँडफाँड गरिने प्रष्ट्याएको हो ।

यसअघि आइतबार बाँडफाँड गर्ने तयारी भए पनि साधना लघुवित्तको आइपीओका कारण सिडिएससीको सिस्टममा भार पर्ने जनाउँदै बाँडफाँडको मिति शनिवार नै तय भएको बताइएको छ ।  

आइपीओ शनिवार बिहान ९ः३० बजे बाँडफाँड हुने र त्यसको फेसबुक लाइभ गरिने क्यापिटलले जनाएको छ । आइपीओ बाँडफाँडका लागि पहिलाजस्तो कुनै पनि सर्वसाधारण वा लगानीकर्तालाई क्यापिटलमा प्रवेश गर्न रोक लगाइएको छ । सबैलाई फेसबुक पेजमार्फत नै बाँडफाँडको कार्यक्रममा सहभागी हुन क्यापिटलले आह्वान गरेको छ । 

क्यापिटलकाअनुसार ३ लाख ९७ हजार ७४१ जना आवेदक लघुवित्तको सेयर पाउन योग्य ठहरिएका छन्। यसरी हेर्दा अधिकांश आवेदकले १० र थोरैले २० कित्ता पाउनेछन् । 

क्यापिटलका अनुसार आईपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको छ । यो माग गरिएभन्दा ५.१९ गुणा बढी हो । सेयर पाउने योग्य आवेदकको संख्या निर्क्यौल भएपछि अब १६ हजार ४९७ जना आवेदकले सेयर नपाउने भएका छन्। 

यो कम्पनीले निश्कासन गरेको १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ५५ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो। 

एनआइसी एशिया लघुवित्त एनआइसी एशिया बैंकको सहायक कम्पनी हो । यो कम्पनीले करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट आइपीओ निश्कासनको स्वीकृति पाएको थियो । 

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।