काठमाण्डौ । एनआइसी एशिया लघुवित्तको आइपीओ बाँडफाँड गरिएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले एक कार्यक्रमको आयोजना गरी आइपीओ बाँडफाँड गरेको हो । 

लघुवित्त क्षेत्रकै सबैभन्दा ठूलो आकारको आइपीओमा रितपूर्वक आवेदन दिने सबैले १० कित्ताको दरले सेयर हात पारेका छन् । 

थप ४६ हजार ५७९ जना लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट थप १० कित्ताको दरले सेयर पाएका छन् । 

आईपिओमा कुल ४ लाख १४ हजार १ सय ८० जनाले २ करोड ३० लाख ६५ हजार ३ सय ९० कित्ताको लागि आवेदन परेको थियो । यो माग गरिएभन्दा ५.१९ गुणा बढी हो । रितपूर्वक आवेदन नदिने १६ हजार ४९७ जना आवेदकले सेयर पाएनन् । 

यो कम्पनीले असार १० गतेदेखि निश्कासन गरेको १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ५५ हजार कित्तामध्ये ०.५ प्रतिशत अर्थात ७४ हजार कित्ता साधारण सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् २ लाख ३७ हजार ८०० कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो। 

एनआइसी एशिया लघुवित्त एनआइसी एशिया बैंकको सहायक कम्पनी हो । यो कम्पनीले करिब ३ महिनाअघि धितोपत्र बोर्डबाट आइपीओ निश्कासनको स्वीकृति पाएको थियो । 

यस लघुवित्त वित्तीय संस्थाले स्थापनाको छोटो समयमै दुर्गम जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय स्थापना गरी वित्तीय पहुँच नपुगेका स्थानहरुलाई प्राथमिकता दिई मुलुकको १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय स्थापना गरी विपन्न वर्गहरुलाई सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।