काठमाण्डौ । के तपाईले एनआइसी एशिया बैंकबाट लिएको कर्जाको ब्याजदर ९.९९ प्रतिशतभन्दा बढी छ ? त्यसो हो भने अबका ८ दिनमा तपाईले २०७७ असार मसान्तसम्म सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम बुझाएमा साउन १ गतेदेखि तपाईको ऋणको ब्याजदर ९.९९ प्रतिशत कायम हुनेछ । 

एनआइसी एशिया बैंकले यस्तो स्किम केही दिनअघि नै ल्याइसकेको हो । अब यस्तो स्किममा सहभागी बन्न ८ दिन मात्र बाँकी रहेको बैंकले प्रष्ट पारेको छ । 

नेपाल राष्ट्र बैंकले कोभिड १९ का कारण ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्न निर्देशन दिएलगत्तै एनआइसी एशियाले त्यसको कार्यान्वयन गरेको थियो । त्यस अलावा एनआइसी एशियाबाट कर्जा सुविधा लिएका ग्राहकले २०७७ असार मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरे साउन १ गतेदेखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने योजना बैंकले सार्वजनिक गरेको हो । 

यो स्किममा ऋणिहरुको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै बैंकले यसको भरपूर फाइदा उठाउन समेत आह्वान गरेको छ । 

एनआइसी एशियाबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गर्ने ग्राहकले २०७७ असार मसान्तसम्मको साँवा तथा ब्याजको किस्ता असार मसान्तभित्रै बुझाएमा साउन १ पछि ब्याजदर ९.९९ प्रतिशत हुने यो स्किमको मुख्य विशेषता हो । 

बैंकले केन्द्रीय बैंकको सर्कुलर कार्यान्वयन गर्दै २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट प्रदान गरी सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा समेत गरिसकिएको प्रष्ट्याएको छ । 

बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले बैशाख तथा जेठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः बैशाख तथा जेष्ठ  मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो । जसमा ग्राहकको उत्साहपूर्ण सहभागिता भएपछि उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकको खातामा जम्मा समेत गरिएको बैंकले विज्ञप्ति जारी गरी जनाएको छ । 

यसैबीच, बैंकले आफ्नोबाट कर्जा उपभोग गरिरहेका तथा भविष्यमा यस बैंकसँग जोडिने ग्राहकहरूको सहजता तथा आवश्यकतालाई महसुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप ‘कर्जा सहायता केन्द्र’ को समेत स्थापना गरेको छ । 

अब ग्राहकले कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले कर्जा सहायता केन्द्रमा फोन गर्न सक्नेछन् । ग्राहकले ‘कर्जा सहायता केन्द्र’को मिस्ड कल बैंकिंग नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी वा HELP टाइप गरी ३४४८८ मा एसएमएसमार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको फेसबुक फर्ममा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ । 

‘कर्जा सहायता केन्द्र’मा ग्राहकले पहिलो सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले व्यवस्था मिलाएको छ ।

अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण नयाँ योजनाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकमाझ नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर ८.२५ प्रतिशत तथा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा  सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजनाहरू ल्याएर गतिशिल बैंकिङ्गको उदाहरण प्रस्तुत गरिसकेको छ । 

साथै, कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने, ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने, कर्जाको पूर्वस्वीकृतिको सुविधा, वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने लगायत नविनतम सुविधासहित बैंकले ग्राहकवर्गलाई अझ परिष्कृत सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्य लिइएको बताएको छ । यस सुपर चमत्कारिक कर्जा सम्बन्धी केही जिज्ञासा राख्नका लागि समेत यस ‘कर्जा सहायता केन्द्र’ अत्यन्तै लाभकारी हुने बैंकले अपेक्षा गरेको छ ।

हाल यो बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकसँग २१ लाख बढी ग्राहकको आबद्धता रहेको छ ।