काठमाण्डौ । एनआइसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल 'प्रवल जनसेवा श्री चतुर्थ'बाट विभूषित हुने भएका छन् । 

विशाल ग्रुपका समेत उपाध्यक्ष रहेका प्रतिष्ठित उद्योगी तथा व्यवसायी अग्रवाललाई संविधान दिवस-२०७७ को अवसरमा राष्ट्रपतिबाट विभूषित गर्ने निर्णय गरिएको हो । 

उनीसहित करिब २ दर्जन उद्योगी व्यवसायी विभिन्न पदक तथा विभूषणबाट विभूषित भएका छन् । 

अग्रवाललाई निजी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विभूषित गर्ने निर्णय भएको बताइएको छ । 

आफ्ना अध्यक्षलाई प्रतिष्ठित विभूषण दिने सरकारको निर्णयको स्वागत गर्दै एनआइसी एशिया बैंकको व्यवस्थापनले राष्ट्रपति कार्यालय र नेपाल सरकारप्रति कृतज्ञता समेत प्रकट गरेको छ । 

एक विज्ञप्ति प्रकाशित गर्दै बैंकले अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याएका स्मरण गराएको छ । बैंकको अध्यक्षका साथै हाल विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा उनी क्रियाशील रहेका छन् । उनी भिजी फाउण्डेसनमार्फत समाज सेवाको क्षेत्रमा समेत सक्रिय रहेका विज्ञप्तिमा बताइएको छ ।