काठमाण्डौ । एनआइसी एशिया बैंक र नेपाल बैंकर्स संघ(एनबिए)बीच सहमति भएको छ । सोमबार नियामक नेपाल राष्ट्रबैंकको पहलमा दुुई पक्षबीच भएको वार्ताको क्रममा सहमति बनेको बताइएको छ । 

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाका अनुसार एनबिएले कायम गरेको भद्र सहमति अनुसार नै ब्याजदर कायम गर्न एनआइसी एशियाको उच्च व्यवस्थापन तयार भएको हो । 

‘उहाँहरुले बैंकमा बैठक बसेर मंगलबारदेखि ब्याजदर भद्र सहमतिअनुसार नै कायम गर्ने भन्नुुभएको छ ।’ ढुंगानाले भने–‘पहिला उहाँहरुले ब्याजदर घटाएको निर्णय सार्वजनिक गर्नुहुन्छ र त्यसपछि एनबिएको बैठक बसी एनआइसी एशियामाथि अन्तरबैंक कारोबारमा लगाइएको प्रतिबन्ध फुकुवा गर्नेछौ ।’ 

बैंकरहरुबीचको भद्र सहमति विपरीत एनआइसीले साधारण खातामा १० प्रतिशत र एकवर्षे मुद्धतीमा १२ प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेपछि एनबिएको गत शुक्रबारको आकस्मिक बैठकले एनआइसी एशियालाई २७ वटा वाणिज्य बैंकसँगको अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेको थियो । सो आकस्मिक निर्णयप्रति आइतबार सबै बैंकका प्रतिनिधिको बैठकले सहमति जनाएपछि अवस्था केही जटिल बनेको थियो । 

एनआइसी एशिया बैंकले भने प्रारम्भदेखि नै बाफियामा भएको व्यवस्था विपरीत एनबिएले गैरकानूनी निर्णय गरी बैंकलाई पेल्न खोजेको दाबी गर्दै आएको थियो । उसले बैंकको प्रगतिप्रति पूर्वाग्रही बनी यस्तो निर्णय आएको भन्दै ब्याजदर फिर्ता नहुने बताएको थियो । तर, बैंकजस्तो संवेदनशील व्यवसायमा जारी द्वन्द्व बढ्दै जाँदा नकारात्मक प्रभाव पर्नसक्ने विश्लेषण गर्दै बैंकले एनबिएसँग वार्ताको हात अगाडि बढाएको थियो । सो क्रममा नेपाल राष्ट्रबैंकले समेत दुवै पक्षलाई एउटा सहमति कायम गराउन विशेष पहल गरेको थियो । सामूहिक पहल र प्रयासबाट एनआइसी एशियालाई ब्याजदर वृद्धिको निर्णय फिर्ताका लागि सहमति गराइएको स्रोतको भनाई छ । बालुवाटारमा भएको बैैठकमा केन्द्रीय बैंकका अधिकारीहरुले दुवै पक्षलाई ब्याजदर यति वा उति कायम गर्नुहोस् नभनेका, बरु मिलेर अगाडि बढ्न आग्रह गरेका स्रोतले बतायो । एउटा बैंक समस्यामा पर्दा त्यसले समग्र प्रणालीलाई नै समस्यामा पार्ने भएकाले दुवै पक्ष मिलेर अगाडि बढ्नुुको विकल्प नभएको केन्द्रीय बैंकका अधिकारीहरुले सुुझाएका थिए । 

यो बिषयमा एनआइसी एशियाले आफ्नो प्रतिक्रिया दिएको छैन । बैंकका कुनै पनि अधिकारी भएको भनिएको सहमतिको बिषयमा बोल्न चाहेका छैनन् ।