काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले बचत खातामा गरेको १० प्रतिशत र १ वर्षे मुद्धती खातामा गरेको १२ प्रतिशत ब्याजदरको अफर चैत २ गतेसम्म जारी राख्ने निर्णय गरेको छ ।  त्यसपछि भने यी दुवै अफर बन्द हुने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

नेपाल बैंकर्स संघसँगको सहमतिअनुसार जिम्मेवार बनी फागुन ११ देखि संचालनमा आएको समुन्नति प्लस बचत खाता (ब्याजदर १० प्रतिशत) र १बर्षे धनबर्षा मुद्धती खाता (ब्याजदर १२ प्रतिशत) अन्तरगत चैत २ गते शुक्रबारसम्म मात्र नयाँ खाता खोल्न सकिने बैंकले प्रष्ट्याएको हो ।

‘हालै सृजित असहज परिस्थितिले गर्दा उपरोक्त उल्लेखित दुवै योजनाहरुलाई ग्राहकहरुको प्रचुर लोकप्रियताको बाबजुद पूर्वनिर्धारित योजनाबमोजिम निरन्तरता दिन असमर्थ भएकोमा सोबाट आम ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाका लागि बैंक क्षमाप्रार्थी छ ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

‘बैंक पनि साथी पनि’ भन्ने नाराकासाथ अघि बढेको यस बैंकले फागुन ११ गतेदेखि ‘धनवर्षा मुद्दती खाता’(वार्षिक ब्याजदर १२ प्रतिशत) र ‘समुन्नति प्लस बचत खाता’ (वार्षिक ब्याजदर १० प्रतिशत) योजना सञ्चालनमा ल्याएको थियो । ती योजनाहरु निक्षेपकर्तामाझ लोकप्रिय भएका थिए । तर, नेपाल बैंकर्स संघमा बैंकरबीच भएको भद्र सहमतिविपरीत ब्याजदर बढाइएको भन्दै एनआइसी एशियालाई २७ वटा बैंकहरुले अन्तरबैंक कारोबारमा सहभागी नगराउने निर्णय गरेका थिए । त्यसपछि उब्जिएको असमझदारीलाई समग्र अर्थतन्त्रको सर्वाङ्गिण हित हुने गरी हल गरेर जानुपर्छ भन्ने महसुस गर्दै सोको लागि सार्थक प्रयास गरी जनउत्तरदायी एवं जिम्मेवार संस्थाको हैसियतले विभिन्न मतान्तरकाबीच वर्तमानको असहज परिस्थिति र आवश्यकता समेतलाई मध्यनजर गर्दै आफूहरुले ब्याजदर वृद्धिको निर्णय फिर्ता लिनुपरेको बैंकले प्रष्ट्याएको छ ।

हाल मुलुकभर गरी १८३ शाखासहित निजी क्षेत्रको सबैभन्दा बढी शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८५ एटिएम सहित मुलुककै सबैभन्दा बढी एटिएम सञ्जाल भएको बैंक समेत बन्न सफल भइसकेको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्ट (प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी) सहित ५,३७५ भन्दा बढी भौतिक सञ्जालमार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको छ । साथै, बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढी रहेको छ । 

त्यसैगरी, वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरुमध्येमा अग्रणी स्थान बनाउन सफल भएको बताइएको छ । बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुल निक्षेप करिब रु १२४ अर्ब पुगिसकेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहन बैंक सफल छ ।