काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेडले पर्वत जिल्ला, फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको सितलाबजारमा आफ्नो बाह्रौं र तेह्रौं शाखारहित बैंकिङ्ग सेवा असार २९ गतेदेखि संचालनमा ल्याएको छ ।

बैंकले फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन पर्वत जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले गरे । बैंकको उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले कविता कुँवरलाई नियुक्त गरेको छ ।

यसैगरी, बैंकले बडैयाताल गाउँपालिकाको सितलाबजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन सोही गाउँपालिका वडानम्बर ८ का अध्यक्ष सुन्दरमान श्रेष्ठले गरे । सो शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि बैंकले प्रतिनिधिको रुपमा धनसिंह सुनारलाई नियुक्त गरेको छ ।

बैंकका अनुसार शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछन् ।

हालसम्म यो बैंकको मुलुकभर २२६ शाखा कार्यालयहरु, २१९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १३ वटा शाखारहित बैंकिङ्ग सेवाको विशाल नेटवर्क रहेको छ । बैंकको वासलातको आकार रु १७६ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. १२० अर्ब र कुल निक्षेप करिब रु. १५० अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ७५ हजार रहेको छ ।