काठमाण्डौ । एनआइसी एशिया क्यापिटल लिमिटेडको दोश्रो वार्षिक साधारणसभाव भदौ १५ गते काठमाण्डौमा सम्पन्न भएको छ । 

सभाले साधारण प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गर्यो । 

साथै सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ७.३६८४२ प्रतिशतका दरले हुन आउने करसहित १,४७,३६,८४२.११ (एक करोड सड्चालिस लाख छत्तिस हजार आठ सय बयालिस रुपैया एघार पैसा मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

छिटो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको एनआइसी एशिया क्यापिटल लिमिटेडले आगामी दिनहरुमा थप उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता सो सभामा व्यक्त गरियो । 

निश्कासन तथा बिक्रीप्रबन्धकसंगै एनआइसी एशिया क्यापिटलले पूँजी बजारमा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन(पोर्टफोलियो म्यानेजमेन्ट), म्युचुअल फण्ड, एकलाख तीस हजार भन्दा अधिक डीम्याट(डीपी) सेवाग्राही तथा ५ वटा कम्पनीको शेयर रजिष्टार सेवा प्रदान गर्दै आइरहेको छ । साथै एनआइसी एशिया क्यापिटल लिमिटेड हालै मात्र लगानी परामर्श सेवा समेत ल्याएको छ ।