काठमाण्डौ । एनआइसी एशिया बैंकले निश्कासन गरेको ११ प्रतिशत 'एनआइसी एशिया ऋणपत्र २०८२/८३' मा माग भन्दा करिब ४० प्रतिशत बढी आवेदन परेको छ । 

भदौ २१ मा बिक्री खुल्ला गरिएको रु.१ अर्ब ८३ करोड बराबरको ऋणपत्रमा व्यक्तिगत तथा संस्थाग तलगानीकर्ताहरुबाट उत्साहजनक सहभागिता भई मागभन्दा बढी आवेदन परेको हो ।

सात वर्षे अवधिको यस ऋणपत्रको ब्याज दर ११ प्रतिशत रहहेको छ । प्रति ऋणपत्र रु. १,०००।– अंकित मूल्यका १८,३०,००० कित्ताले हुन आउने रु.१,८३,००,००,०००।– मध्ये रु १ अर्ब ४६ करोड ४० लाख बराबरको ऋणपत्र विभिन्न व्यक्ति वा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री खुला गरिएकोमा भदौ २७ सम्ममा करिब रु. २ अर्ब १६ करोड (१४८ प्रतिशत)को आवेदन प्राप्त भएको हो । यो भनेको माग गरिएको भन्दा ४८ प्रतिशतले बढी हो ।

यसैगरी, रु ३६ करोड ६० लाख बराबरको ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरिएकोमा भदौ २७ सम्ममा करिब रु. ४४ करोड (१२० प्रतिशत) आवेदन प्राप्त भएको छ । जुन माग गरिएको भन्दा २० प्रतिशतले बढी हो । 

दुवैतर्फ गरी कुल करिब रु.२ अर्ब ६० करोड (१४२ प्रतिशत, अर्थात माग गरिएको भन्दा ४२ प्रतिशतले बढी)को आवेदन प्राप्त भएको बताइएको छ । 

जारी गरिएको ऋणपत्र दोश्रो बजारमा खरीदबिक्रीका लागि सूचिकृत गरिनेछ । नेपालको पूँजीबजारमा हाल बैकिङ्ग क्षेत्र, बिमा क्षेत्र, जलविद्युत क्षेत्र तथा केही उत्पादनशील क्षेत्रका शेयरको कारोबारकोे उपस्थिति उल्लेखनीय रहेको भएता पनि ऋणपत्रको कारोबार भने लगभग नगण्य रहेको र ऋणपत्रको कारोबारलाई विकसित मुलुकहरुमा रहेको चलायमान ऋणपत्र बजार अनुरुप थप विकसित र प्रभावकारी गर्न बैंकद्वारा जारी गरिएको उक्त ऋणपत्रले थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।