काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको कात्तिक ३० गते बसेको संचालक समितिको ३७७ औं बैठकले आर्थिक वर्ष ०७४/७५ को नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

बैंकले आर्थिक वर्ष ०७४/७५ मा वार्षिक विन्दूगत आधारमा कर्जा तथा सापटीतर्फ रु. ४८ अर्ब(६७ प्रतिशत)ले वृद्धि गरी रु. १२० अर्ब तथा निक्षेपतर्फ रु. ६४ अर्ब(७३ प्रतिशत)ले वृद्धि गरी रु. १५२ अर्ब संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कर्जा तथा सापटीतर्फ वार्षिक विन्दूगत आधारमा ६१ प्रतिशत(रु. ५३ अर्ब)ले वृद्धि गरी रु. १३९ अर्ब तथा  कुल निक्षेप संकलनमा ५८ प्रतिशत(रु. ६० अर्ब)ले वृद्धि गरी रु. १६३ अर्ब गर्न सफल भएको छ । 

सार्थ, खूद नाफामा १७० प्रतिशत(रु. ४७ करोड)ले वृद्धि गरी रु. ७५ करोड ५३ लाख आर्जन गरेको छ भने यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी रु. ३६.७८ रहेको छ । 

बैंकले आर्थिक वर्ष २०७४/७५ मा मात्रै ११२ वटा नयाँ शाखा थप गरी कुल २३१ शाखा सञ्जाल, १५० नयाँ एटीएम थप गरी २२० एटीएम, १० वटा थप गरी कुल १४ वटा एक्सटेन्सन काउण्टर तथा १५ नयाँ शाखारहित बैंकिंगको संख्या पुर्याएको थियो । 

हाल बैंकको शाखा संख्या २६५ पुगेको छ भने २६९ ठाउँमा एटीएम लगाइसकेको छ । एक्सटेन्सन काउण्टरको संख्या ३७ पुगेको छ भने १८ वटा शाखारहित बैंकिंगमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।