काठमाण्डौ । एनआइसी एशिया बैंकले वितरणयोग्य मुनाफातर्फ निकै राम्रो छलाङ मारेको छ । यो बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब २६ करोड फ्रि प्रफिट आर्जन गरेको हो । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०२.०२ प्रतिशतको छलाङ हो ।

कम्पनीको खूद नाफातर्फ समेत उस्तै प्रगति देखिएको छ । अघिल्लो वर्ष ५७ करोड २१ लाख यस्तो नाफा कमाएको बैंकले यो वर्ष १ अर्ब ५१ करोड नाफा कमाएको हो ।

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ७८ करोड ४८ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ अर्ब १३ करोडको उचाईमा पुगेको छ । 

बैंकले खूद संचालन आम्दानीतर्फ पनि निकै ठूलो फड्को मारेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ८२ करोडमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिसम्म ४ अर्ब माथि पुगेको छ । 

अघिल्लो वर्ष १ अर्ब ५५ करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर ३ अर्ब ६० करोडको उचाईमा पुर्याएको बैंकले ९ अर्ब ६५ करोड ब्याजबाट आम्दानी गरेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब ७५ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेपतर्फ करिब ४६ प्रतिशत र कर्जातर्फ करिब ४९ प्रतिशतको बढोत्तरी कायम गरेको छ । 

अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म २ अर्ब ६५ करोडमा सीमित रिजर्बकोषलाई बढाएर ४ अर्ब ४१ करोडको उचाईमा पुरयाएको बैंकले ऋणपत्रतर्फको लगानीमा समेत विशेष ध्यान दिएको देखिन्छ । 

कम्पनीको खराब कर्जा भने सामान्य बढेको छ । अघिल्लो वर्षको यही अवधिमा ०.२६ प्रतिशत रहेको यस्तो कर्जा बढेर यो वर्ष ०.३० प्रतिशत पुगेको हो ।

अघिल्लो वर्ष ७.६० प्रतिशत रहेको कस्ट अफ फण्ड घटेर ७.१६ प्रतिशत कायम भएको छ भने अघिल्लो वर्षभन्दा यो वर्षको सीसीडी रेसियो केही टाइट देखिएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको सीसीडी रेसियो ७८.१९ प्रतिशत रहेकोमा यो वर्ष केही बढेर ७८.७१ प्रतिशतको उचाईमा पुगेको छ । 

दोश्रो त्रैमाससम्म एनआइसीको बेस रेट ९.३३ कायम भएको छ भने यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानीमा चमात्कारिक प्रगति भएको छ । 

अघिल्लो वर्ष यही अवधिमा १४ रुपैयाँ २५ पैसा रहेको इपीएस बढेर यो वर्ष ३४ रुपैयाँ ३१ पैसाको उचाईमा पुगेको हो । यसरी हेर्दा बैंकले इपीएसतर्फ १४०.७७ प्रतिशतको छलाङ मारेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४९.९३ रुपैयाँ, तरलता अनुपात २०.८१ प्रतिशत र मूल्य आम्दानी अनुपात ११.२५ गुणा कायम भएको छ । 

पूरा वित्तीय विवरण हेर्न तल जानुहोस् :