काठमाण्डौ । ऋणपत्रको बजार बिस्तारको नीतिगत व्यवस्था भएसँगै वाणिज्य बैंकहरुले एकपछि अर्को गर्दै ऋणपत्र निश्कासनको अनुमति पाउन थालेका छन् । यही क्रममा एनआइसी एशिया र ग्लोबल आइएमई बैंकले ऋणपत्र निश्कासनको अनुमति पाएका छन् । 

यी दुई वाणिज्य बैंकलाई धितोपत्र बोर्डले पुस ३० गते कुल ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने अनुमति दिएको हो । 

बोर्डले एनआइसीलाई १० वर्षे अवधिको ४ अर्ब रुपैयाँ र ग्लोबल आइएमई बैंकलाई ५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको स्वीकृति दिएको हो । 

प्रतिकित्ता एकहजार रुपैयाँको दरले दुवै बैंकले निश्कासन गर्ने ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछन् । 

एनआइसी एशियाले चौथोपटक ऋणपत्र निश्कासन गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार दरले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ ।

कुल ऋणपत्रमध्ये २० प्रतिशतले हुने ८० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ ।

यसपटक ऋणपत्र निश्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गर्नेछ । 

एनआइसीले यसअघि ३ पटक जारी गरेको ऋणपत्रमा लगानीकर्ताको निकै राम्रो आकर्षण थियो । 

अन्य केही बैंकको ऋणपत्र नबिकिरहेको बेला समेत एनआइसी एशियाले पछिल्लो समय निश्कासन गरेको १ अर्ब ८३ करोडको ऋणपत्र सबै बिक्री भएको थियो ।

यसैगरी, ग्लोबल आईएमई बैंकले पनि दोश्रोपटक ऋणपत्र निश्कासन गर्ने अनुमति पाएको छ । करिब ६ वर्षअघि यो बैंकले ४० करोड रुपैयाँको ऋणपत्र निश्कासन गरेको थियो । 

यो पटक ग्लोबल बैंकलाई एक हजार प्रतिकित्ता अंकित मूल्यमा १५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति दिइएको हो । 

निष्काशन हुन लागेको ऋणपत्रमध्ये २० प्रतिशत सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । यो ऋणपत्र ५ वर्षमा परिपक्व हुनेछ ।
ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमीटेड रहेको छ ।