काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले धितोपत्र बोर्डबाट स्वीकृति पाएलगत्तै आफ्नो चौथो ऋणपत्र निश्कासनको आह्वानपत्र सार्वजनिक गरेको छ । 

कम्पनीले ‘१० प्रतिशत एनआइसी एशिया डिवेञ्चर २०८५/८६’ नामको ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आगामी माघ १३ गतेदेखि निश्कासन गर्ने भएको हो । 

प्रतिकित्ता १००० दरका कुल ४० लाख कित्ता ऋणपत्र खरीदका लागि छिटोमा माघ १६ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ । 

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिनसक्ने बताइएको छ । 

दश वर्षे अवधिको ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतको दरले ब्याज पाउनेछन् । यो भनेको वाणिज्य बैंकहरुले हाल मुद्धती निक्षेपमा दिंदै आएको भन्दा बढी ब्याज हो । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने बताइएको छ । 

कुल निश्कासन हुने ४० लाख कित्तामध्ये १६ लाख कित्ताले हुन आउने १६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारण नेपालीका लागि बिक्री गरिनेछ । यसमध्ये ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमीटेड रहेको छ । 

इच्छुक लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमीटेडको मुख्य कार्यालय, एनआइसी एशिया बैंकका सबै शाखा कार्यालय तथा सीआस्वा सेवा संचालनको अनुमति पाएका जुनसुकै बित्तीय संस्थाका कार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । 

केयर रेटिङ्स नेपालले यो कम्पनीको यो चौथो ऋणपत्रलाई ‘केयर एनपी–ए’ को रेटिङ दिएको छ, जसको अर्थ यो ऋणपत्रमा लगानी गर्नु कम जोखिमपूर्ण छ भन्ने हो ।

चौथो ऋणपत्र समेत जारी भएपछि एनआइसी एशियाले ऋणपत्रबाट मात्रै गरेको पूँजी संकलन बढेर ९ अर्ब ३३ करोडको उचाई चुम्नेछ ।

पछिल्लो समय ऋणपत्र निश्कासनका लागि वाणिज्य बैंकहरु आकर्षित हुँदै गएका छन् । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत ऋणपत्र निश्कासन सम्बन्धी निर्देशिकामा केही लचिलो व्यवस्था गरिदिएपछि एकपछि अर्को ऋणपत्रमा लगानीको अवसर सिर्जना भएको हो । 

ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजीकोष अनुपातमा मिलाउन पाइने भएकाले समेत बैंकहरुको ध्यान पछिल्लो समयमा यस्ता उपकरणतर्फ केन्द्रीत भएको हो ।