काठमाण्डौ । लगानीयोग्य पूँजीको अभाव र ब्याजदरको प्रभाव बैंक तथा बित्तीय संस्थाहरुले निश्कासन गर्ने ऋणपत्रहरुमा समेत पर्न थालेको छ । 

तीनवटा ऋणपत्र सफलतापूर्वक बिक्री गरेको एनआइसी एशियालाई चौथो ऋणपत्र बिक्रीमा भने सकस परेको छ । यो बैंकले पछिल्लो पटक माघ १३ गतेदेखि निश्कासन गरेको  १० प्रतिशत एनआइसी एशिया डिवेञ्चर २०८५ ८६ नामको ऋणपत्रअन्तर्गत सर्वसाधारणका लागि सुरक्षित गरिएको कित्तामध्ये ८.८१ प्रतिशत मात्र बिक्री भएको छ । 

बैंकले कुल ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निश्कासन गरेको  थियो । त्यसमध्ये १६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता(८० हजार कित्ता म्युचुअल फण्डसहित) सर्वसाधाराका लागि सुरक्षित गरिएको थियो । 

सुरक्षित यही  कित्तामध्ये न्यून कित्ताका लागि मात्र सर्वसाधारणले आवेदन हालेका हुन् । 

बैंकले माघ १३ देखि फागुन १३ गतेसम्म ऋणपत्रको सार्वजनिक निश्कासन तथा बिक्री खुल्ला गरेको थियो । सो क्रममा सर्वसाधारणतर्फ १ हजार ९९ जनाले ऋणपत्र खरीदका लागि आवेदन दिएका थिए । 

यस्तै, व्यक्तिगत तवर(प्राइभेट प्लेसमेन्ट) अन्तर्गत भने निकै धेरै ऋणपत्र बिक्री भएको छ । यो वर्गमा २६ जना संस्थागत र व्यक्तिगत आवेदन परेका थिए । उनीहरुलाई २२ लाख ६३ हजार ६०० कित्ता बाँडफाँड गरिएको छ । यसको अर्थ यो समूहका लागि सुरक्षित गरिएको २४ लाख कित्तामध्ये ९४.३१ प्रतिशत ऋणपत्र बिक्री भएको देखिएको छ । 

यसरी समग्रमा हेर्दा एनआइसी एशियाले निश्कासन गरेको १ हजार दरका कुल ४० लाख कित्तामध्ये ६०.११ प्रतिशत ऋणपत्र मात्र बिक्री भएको छ । 

बैंकका अनुसार १० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक रुपमा १० प्रतिशत ब्याज उपलब्ध गराउने र त्यसको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
बताएको छ ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले ऋणपत्रका लागि परेका आवेदनका आधारमा शुक्रबार नै बाँडफाँड गरिसकेको छ । 

बाँकी रहेको ऋणपत्र पुनः बिक्री गर्न पाइने प्रावधान रहेकोले बैंकले अनुकुल मिलाएर निश्कासन गर्नेछ ।