काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले नेपाल सरकार र राष्ट्रबैंकको “समृद्धसँग जोडौ नाता: सबै नेपालीको बैंक खाता” भन्ने नारासहित सुरु हुन लागेको “खोलौ बैंक खाता अभियान २०७६”लाई सहयोग गर्ने उद्देश्यले समृद्ध नेपाल, सुखी नेपाली बचत खाता संचालनमा ल्याएको छ । 

बैंकले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै बैशाख १ गतेदेखि लागू हुने गरी यस्तो बैंक खातामा संचालनमा ल्याइएको प्रष्ट पारेको हो । 

नेपाल राष्ट्रबैंकले खोलौं बैंक खाता अभियानमा सरिक हुन सबै बैंक तथा वित्तीय संस्थालाई हिजोमात्र सर्कुलर जारी गरेको थियो । केन्द्रीय बैंकको सर्कुलरलाई कार्यान्वयन गर्ने पहिलो बैंक पनि एनआइसी एशिया नै भएको छ । 

बुधबार नेपाल बैंकर्स संघको बैठकले सरकारको यो अभियानलाई साथ दिने सबै बैंकबीच सहमति भएको थियो । उनीहरु सबैले बैशाख १ गतेदेखि यो स्किम अन्तर्गत खोलिने खातामा रु. १०० बैंकको तर्फबाट हालिदिने निर्णय गरेका थिए । निर्णय सबै बैंकले गरे पनि घोषित रुपमै अभियानलाई साथ दिने पहिलो बैंक एनआइसी एशिया भएको हो ।

एनआइसी एशियाले बैशाख १ गतेदेखि लागू हुने गरी सार्वजनिक सो बचत खाता खोल्ने प्राकृतिक व्यक्तिलाई बैंकले रु. १०० खातामा जम्मा गरिदिने घोषणा समेत गरेको छ । 

केन्द्रीय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै खाता खोल्दा त्यहाँ बैंकको तर्फबाट हालिने पैसा बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट खर्च गर्न पाउने व्यवस्था गरेको थियो । एनआइसी एशियाले समेत यसरी खाता खोल्नेलाई जम्मा गरिदिने रकम सोही कोषबाट व्यवस्थापन गर्ने गरी बचत खाताको स्किम सार्वजनिक गरेको हो । 

यो बैंक देशमै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको वाणिज्य बैंक हो । हाल यो बैंकको देशभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई रहेका छन् । 

बैंकका हाल करिब १५ लाखको हाराहारीमा ग्राहक रहेका छन् ।