काठमाण्डौ । एनआइसी एशिया बैंकको सेयरमा फेरि पनि उच्च खरीद चाप देखिएको छ । यो बैंकले तेश्रो त्रैमासको प्रगति विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको बेला दोश्रो बजारमा एकाएक खरीदमा उच्च चाप परेको हो। 

यहीकारण एनआइसी एशिया बैंकको मूल्य पुनः तीव्र गतिमा बढ्न थालेको छ । 

एनआइसी एशियाको मूल्यमा उछाल आउँदा बुधबार ऐतिहासिक विन्दु चुमेको छ । अर्थात, एनआइसी एशियाको दोश्रो बजार मूल्य प्रति कित्ता ५०० रुपैयाँ माथि पुगेको छ । 

नेप्से परिसूचक १८८१ को सर्वाधिक विन्दूमा पुगेर बियरिस प्रवृतिमा कुद्न थालेपछिको अवधिमा हालसम्म यो बैंकको सेयर मूल्य ५०० रुपैयाँ माथि पुगेको थिएन । 

मार्च २६ मा ३९८ रुपैयाँ रहेको एनआइसी एशियाको मूल्य अप्रील १६ मा बढेर ४९२ र २१ मा ४९४ पुगेको थियो । 

बुधबार भने सेयर मूल्य अझै बढी ५०६ रुपैयाँ माथि पुगेको हो । अघिल्लो दिन बैंकको अन्तिम बिक्री मूल्य ४९० रुपैयाँ थियो । 

बजार बन्द हुन केही मिनेट मात्र बाँकी छँदाको मार्केट डेप्थमा यो बैंकको सेयरमा उच्च खरीद चाप देखिएको छ । खरीदतर्फ १ लाख १३ हजार ११६ कित्ताको अर्डर पोस्ट भएको छ भने बिक्रीतर्फ ५ हजार २८ को मात्र अर्डर पोस्ट भएको छ । यसको अर्थ यो बैंकको सेयर बेच्ने भन्दा खरीद गर्नेको संख्या अधिक छ भन्ने हो । 

एनआइसी एशियाको मूल्यले ५०० को विन्दु पार गरेको बेला इन्भेष्टमेन्ट बैंकको मूल्य ५७४ रुपैयाँ छ भने नवील बैंकको मूल्य घटेर ८८० मा सीमित भएको छ । 

एनआइसी एशियालाई आफ्नो बैंकको प्रतिस्पर्धीको रुपमा नवील बैंकका सीइओ अनिलकेशरी शाहले तुलना गरेका थिए । उनले एनआइसी एशियाले चमात्कारिक प्रगति गरेको बताएदेखि एनआइसी एशियालाई बजारमा नवीलको प्रतिस्पर्धीको रुपमा हेर्दै खरीद गर्ने लहर नै चलेको छ ।