काठमाण्डौ । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि सञ्चालनमा आएको छ ।

अनामनगर शाखाकोे लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले र सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका छन् । यी शाखाहरु सञ्चालनमा आएसँगै ती क्षेत्रका ग्राहकलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६३ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।