काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ९६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

यो नाफा बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंक लिमिटेड पछिको तेस्रो ठूलो मुनाफा हो । पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख रुपैयाँ र नबिल बैंकले १ अर्ब १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार एनआईसी एसिया बैंकले गत वर्षको तुलनामा ३४.१३ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ । गत वर्ष बैंकले ७५ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकले वितरणयोग्य मुनाफा भने ४४ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले समीक्षा अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष बैंकले १ अर्ब ६ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।

पहिलो त्रैमासमा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८६ करोड लाख रुपैयाँ थियो ।

बैंकले यो वर्षको पहिलो त्रैमासमा १ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले यही अवधिमा १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले रिजर्भको आकार १३.०३ प्रतिशतले बढेको छ । गत वर्ष ३ अर्ब ९८ करोड रुपैयाँ रहेको रिभर्जमा यो वर्षको पहिलो त्रैमासमा बढेर ४ अर्ब ५० करोड रुपैयाँ भएको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४०.७८ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात ९.४७ गुणा रहेको छ ।