काठमाण्डौ । एनआईसी एसिया बैंकले हिजो मंगलबार जारी गरेको ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ विषयको प्रेस विज्ञप्तिका सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बैंकले बुधबार विज्ञप्ति जारी गर्दै यससम्बन्धी सत्यतथ्य प्रस्ट्याएको छ । 

बैंकले आफ्ना ग्राहकहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको जानकारी गराएको छ । यो योजना बैंकको ‘सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता’ को नाम परिर्वतनमात्र रहेकोसमेत बैंकले प्रस्ट पारेको छ ।

आम जनमानसलाई सजिलोसँग बुझ्न र बुझाउन सजिलो होस् भन्ने उद्देश्यले यो योजनालाई ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ भनी नामांकन गरिएको बैंकले जनाएको छ ।

रिकरिङ्ग निक्षेप एक विशेष प्रकारको मुद्दति निक्षेप योजना हो । जसमा ग्राहकले आफ्नो भविष्यको विभिन्न योजनाका लागि चाहिने वित्तीय श्रोत जुटाउन मासिक रुपमा किस्ताको हिसाबले उक्त खातामा चाहिएको रकम जम्मा गर्न सकिन्छ ।

रिकरिङ्ग निक्षेप योजना अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासमा समेत निकै नै प्रचलित एवम् पहिलादेखि नै सञ्चालनमा रहेको योजना रहेको र नेपालमा समेत केही बैंकहरुले विभिन्न नाममा रिकरिङ्ग निक्षेप योजना सञ्चालन गरी निक्षेप स्रोत परिचालन गरिरहेका छन् ।

यो बैंकले सार्वजानिक गरेको ‘सुपर चमत्कारिक खाताहरु’ अन्तर्गत उक्त ‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बचत खाता नभई एक विशेष प्रकारको मुद्दति खाता भएकोले ग्राहकले ३ महिनादेखि १० वर्षसम्मका लागि आफ्नो आवश्यकताअनुसार खाता खोल्न र मुद्दति निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन्।