काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट (सीआईटी) को संस्थापक समूहको सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत आज आइतबारदेखि  बिक्री खुलाएको छ। 

बैंकले आफ्नो स्वामित्वमा रहेको कुल १ लाख ६६ हजार ३२ कित्ता संस्थापक समूहतर्फबाट सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री खुलाएको हो। यो बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुहबाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु सहभागी हुन सक्ने छैनन्। 

बोलपत्र पेस गर्नका लागि सेयरको न्यूनतम मूल्य प्रतिकित्ता सेयर १ हजार ७०० रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि न्यूनतम १०० कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतम १ लाख ६६ हजार ३२ कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। 

बोलपत्र एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालय, एनआईसी एसिया बैंकको काठमाण्डौको थापाथलीस्थित कर्पोरेट कार्यालय तथा विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र काठमाण्डौको कमलादी शाखाहरुमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत ९ गतेसम्म तोकिएको छ।