काठमाण्डौ। एनआईसी एशिया बैंक लिमिटेडले प्रदेश १ मा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई प्रदेश सरकारसँगको सहकार्यमा रु. ५ लाखबराबरको चामल, तेल, नुन, दाललगायतका खाद्यसामग्री वितरण गरेको छ।

कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरुसमेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत खाद्यसामग्री वितरण गरेको हो। 

बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा बिहीबार एक कार्यक्रमबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई उक्त खाद्यसामग्री हस्तान्तरण गरे। 

प्रदेश १ सरकारसँगको सहकार्यमा वितरण गरेको खाद्यसामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केही भए पनि राहत मिल्ने विश्वास बैंकले लिएको छ। 

बैंकले यसअघि काठमाडौंमा ज्याला मजदुरी गर्नेहरुका लागिसमेत नेपाल प्रहरीसँगको सहकार्यमा रु. ५ लाखबराबरको खाद्यसामग्री वितरण गरिसकेको छ।