काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकमाझ उत्तरदायी बैंकिङको अभ्यास गर्दै यो बैंकले आफ्ना अतुलनीय र असीमित सुविधाहरुले भरिपूर्ण नयाँ योजनाहरु ल्याउने क्रमलाई निरन्तरता दिएको हो। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आम ग्राहकको आवश्यकतालाई पहिचान गरी बैंकले नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चमत्कारिक कर्जा योजनाहरु ल्याएको हो। यसअन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा ती कर्जाहरु उपलब्ध गराउनेछ। उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने बैंकले व्यवस्था गरेको छ।

सुपर चमत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन चाहने ग्राहक महानुभावले यस योजनाको लाभ लिन सक्ने बैंकले जनाएको छ। न्यूनतम ५ वर्षदेखि अधिकतम ३० वर्ष (मोराटोरियम पिरियड ५ वर्षसमेत गरी) कर्जाको समयावधि कायम गरिएको छ। यसमा अधिकतम रु. १ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ। जसअन्तर्गत अधिकतम रू. ५० लाखसम्मको ओभरड्राफ्ट सुविधासमेत लिन सकिने व्यवस्था गरिएको छ। 

घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको सतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणका लागि अधिकतम ५ वर्षसम्मको मोराटोरियम पिरियड लिन सकिनेछ। मोराटोरियम अवधिमा ऋणीले कर्जाको ब्याजमात्र भुक्तानी गर्न सक्नेसमेत सुविधा रहेको छ। यसबाहेक फ्लेक्जियम ईएमआईमार्फत ग्र्राहकले आफ्नो आर्थिक क्षमताअनुसारको आफूले तिर्नसक्ने ईएमआई वार्षिक रुपमा आफैले निधारण गरेर भुक्तानी गर्न सक्नेछन्। 

यस योजनाअन्तर्गत घर कर्जा उपभोग गरिरहेका ग्राहकले बन्डेल अफरअन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्थासमेत रहेको छ। अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेकाहरुले यस कर्जाअन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गरी आफ्नो आर्थिक भारलाई न्यून गर्न सक्ने बैंकले जनाएको छ। 

यसैगरी सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि ग्राहकले कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेकाहरुले यस बैंकको सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत आफ्नो कर्जा स्थानान्तरण गर्नसमेत सक्नेछन्। यस योजनाअन्तर्गत अधिकतम रु. २ करोड कर्जा सीमा कायम गरिएको छ। सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियलइस्टेट दुवै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ। 

देशको अर्थतन्त्रलाई बलियो टेवा दिइरहेको साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको यस्तो अवस्थामा बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको छ। जसअन्तर्गत उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकताअनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन्। यस्तो कर्जा सीमा अधिकतम रू. १ करोडसम्म निर्धारण गरिएको छ। यस्तो योजनाबाट विषम परिस्थितिमा समेत लगानीको वातावरण बनाउन आमसर्वसाधारणलाई थप प्रोत्साहन तथा प्रेरणा मिल्ने बैंकले विश्वास लिएको छ। 

सर्वाधिक न्यूनतम ब्याजदर तथा अनुपम सुविधाले भरिपूर्ण बैंकको सुपर चमत्कारिक कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप आवश्यक कागजात प्राप्त भएपश्चात बैंकले यी तीनवटा कर्जाबारे ४८ घण्टाभित्र नै निर्णय दिने व्यवस्था गरेको छ। यी कर्जाबारे आवेदन बैंकको बेवसाइट www.nicasiabank.com मार्फत अनलाइन दिन सकिनेछ तथा ३४४८८ मा Loan टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी प्राप्त गर्न सकिने बैंकले स्पष्ट पारेको छ।