काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आइतबार बोनस सेयरका लागि एनआईसी एसिया बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्न आइतबार बुक क्लोज गरेसँगै नेप्सेले दुवै बैंकको सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले एनआईसी एसियाको मूल्य समायोजन गरी प्रतिकित्ता ४०७.२७ रुपैयाँ र कुमारी बैंकको प्रतिकित्ता १८४.५५ रुपैयाँ कायम गरेको छ । दोस्रो बजारमा आइतबार दुवै बैंकको समायोजित मूल्यमै कारोबार सुरु भएको छ ।

एनआईसी एसिया र कुमारी बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित लाभांश पाउन गत बिहीबारसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट एनआईसी एसियाले २१.०५ र कुमारी बैंकले १०.५२ प्रतिशत लाभांश वितरणको घोषणा गरेका छन् । लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि दुवै बैंकले आज आइतबारदेखि सेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) गरेका छन् ।

एनआईसी एसियाले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) प्रस्ताव गरेको छ । कुमारीले १० प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश दुवै बैंकले राष्ट्रबैंकको स्वीकृतिसँगै आगामी साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गर्ने जनाएको छन् । प्रस्तावित लाभांश वितरणका लागि एनआईसी एसिया बैंकले आउँदो असोज १० गते २२ औँ वार्षिक साधारणसभा डोकेको छ । कुमारी बैंकले भने असोज ११ गते १९ औँ वार्षिक साधारणसभा गर्ने भएको छ।

हाल एनआईसी एसियाको चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ९ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

यसैगरी लक्ष्मी बैंकको बोनस सेयर वितरणपछि चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्तापुँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ ।