काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले लिलामीमा राखेको आफ्नो स्वामित्वमा रहेका सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम मौका रहेको छ। 

एनआईसी एसियाले गत असोज २ गतेदेखि सूर्या लाइफमा रहेको आफ्नो ३९ हजार १०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ। इच्छुक लगानीकर्ताले आज (असोज ९ गते) बैंकिङ समयसम्म गोप्य शिलबन्दी बालपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ। सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र आवेदन काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयमा बुझाउन सकिनेछ।