काठमाण्डौ । भर्खरै आईपीओ बिक्री गरेको एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयर कारोबार भोलि बुधबारदेखि नेपाल स्टक एक्सचेन्जमा हुने भएको छ।

नेप्सेमा मंगलबार यो कम्पनीको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता साधारण सेयर सूचीकृत भएसँगै भोलि बुधबारबाट कारोबारमा आउने भएको हो। नेप्सेले यो कम्पनीको सेयर कारोबारका लागि ओपनिङ रेन्ज १०२.०६ रुपैयाँदेखि ३०६.१८ रुपैयाँ तोकेको छ भने कारोबार संकेत एनआरएन दिइएको छ।

यो कम्पनीको सेयर भोलि स्पेसल प्रिओपन सेसन (बिहान १०ः३० देखि १०ः४५) मा नेप्सेले तोकेको प्राइस रेन्जमा एक पटक कारोबार भएपछि मात्र नियमित समय (११ देखि ३ बजेसम्म) मा उक्त कम्पनीको धितोपत्र कारोबार हुनेछ।

यो कम्पनी गत साउन १६ गतेदेखि साउन २१ गतेसम्म रु. १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको थियो भने २ प्रतिशत अर्थात् ६७ हजार ९६१ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी ३१ लाख ६० हजार १८३ कित्ता सर्वसाधारणका लािग छुट्याइएको थियो।