काठमाण्डौ । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले आर्थिक वर्ष २०७६÷७६ मा २४ हिमाली चुचुरा ‘पिक’ आरोहण अनुमतिबाट रु १२ करोड ५१ लाख ८० हजार रोयल्टी उठाएको छ । नेपाल सरकारले अनुमति दिएका पाँच हजार ८०० देखि छ हजार ५०० मिटरसम्म उचाइ भएका २७ पिकमध्येमा गत वर्ष २४ पिक आरोहणबाट उक्त रकम सङ्कलन भएको जनाइएको छ । सङ्घका अध्यक्ष सन्तवीर लामाका अनुसार सरकारले एनएमएलाई २७ पिकको प्रवद्र्धन तथा आरोहण अनुमतिको जिम्मा दिएको छ । जिम्मा दिएका मध्येमा गत वर्ष २४ पिक आरोहणका लागि एक हजार ७३३ समूहका छ हजार ५५५ जनाले अनुमति लिएका थिए । अनुमति लिने मध्येमा १०२ नेपाली रहेका एनएमएले जनाएको छ । 

 

सरकारले नियमअनुसार उठेको रोयल्टी रकममध्येबाट २५ प्रतिशत प्रदेश सरकार, २५ प्रतिशत स्थानीय तह र पाँच प्रतिशत नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समिति (माउन्टेन एकेडेमी) मा जम्मा गर्नुपर्ने हुन्छ । गत आवको रोयल्टी रकम सङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्वतारोहण रोयल्टी खातामा जम्मा गरेको जनाएको छ । जम्मा उठेको रकममध्येबाट सङ्घले तीन शीर्षकमा रु छ करोड ८८ लाख ४९ हजार जम्मा गरेको हो । उहाँका अनुसार सम्बन्धित प्रदेश सरकारको कोष र स्थानीय तहको कोषमा छुट्टाछुट्टै रु तीन करोड १२ लाख ९५ हजार तथा माउन्टेन एकेडेमीका नाममा रु ६२ लाख ५९ हजार रोयल्टी रकम जम्मा गरिएको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नियमअनुसार रोयल्टी रकम भुक्तानी प्रक्रियामा अस्पष्ट हुँदा भुक्तानीमा केही ढिला भएको सङ्घका महासचिव एवं सूचना अधिकारी कुलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घले २७ पिकमध्ये समूह ‘क’ मा १२ र समूह ‘ख’ मा १५ पिक गरी दुई भागमा विभागजन गरेको छ । शुरुआती चरणमा १२ पिकको अनुमति दिएको सरकारले विसं २०७४ साउन १० गते १५ पिक थप गरेर २७ पिकको जिम्मा दिएको थियो । 

एनएमएले २०७६ साल असोज १३ गते सरकारलाई थप पाँच हजार ८०० उचाइदेखि छ हजार ५०० मिटर उचाइसम्मका १७६ पिकको व्यवस्थापनाको जिम्मा दिन आग्रहसमेत गरेको थियो । सङ्घका अध्यक्ष लामाका अनुसार नेपाल पर्वतारोहण सङ्घ (एनएमए) ले हाल आरोहण गरिँदै आएका तथा पहिचान भएर पनि आरोहण नगरिएका ४१४ हिमशृङ्खला तथा चुचुरा (पिक)को विस्तृत जानकारीसहित ‘पिक प्रोफाइल’ तयार पारेको छ ।हालसम्म आरोहणका लागि उपयुक्त मानिएका ४१४ चुचुराबारे व्यवस्थित रूपमा एउटै वेबसाइट पोर्टलबाट जानकारी उपलब्ध गराउने उद्देश्यले पिक प्रोफाइल तयार गरिएको हो । उहाँका अनुसार नेपालको साहसिक पर्यटन प्याकेजका रूपमा रहेका नेपालका हिमशृङ्खला तथा पर्वतका विषयमा व्यवस्थित रूपमा प्रोफाइल पहिलोपटक तयार पारिएको हो ।