काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी गत असोज ११ गतेदेखि एकीकृत कारोबार थालेको एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई सन्तोषजनक लाभांश प्रस्ताव गरेको छ ।

गत कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले चुक्तापुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७.९६ रुपैयाँको २१ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५८.६५ रुपैयाँबराबरको बोनस सेयर र १४ प्रतिशतले हुन आउने १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९.११ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरे सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

२१ प्रतिशत बोनस वितरणपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार ३३६ रुपैयाँ पुग्नेछ ।

गत आर्थिक वर्षमा एनएमबि बैंकले दुई अर्ब ३१ करोड रुपैयाँ र ओम डेभलमेन्ट बैंकले ५९ करोड ९५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । जसमा एनएमबिको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड ४७ लाख ९३ हजार र ओमको ४५ करोड ७३ लाख ७७ हजार रुपैयाँ थियो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा एनएमबि बैंकले १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो।

नेप्सेमा एनएमबि बैंकको सेयर कारोबार गत कार्तिक २१ गतेदेखि सुरु भएको थियो ।