काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आन्तरिक उत्पादन तथा रोजगार सिर्जनालाई प्रवर्धन गर्ने उद्देश्यसहित विभिन्न उद्यमी संगठनहरुसँग साझेदारी गर्ने भएको छ ।

राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच बैंकले नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो संघ नेपाल र नेपाल उद्यमशील महिला महासंघसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरेको हो । यी निकायका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रका गतिविधिहरुमा साझेदारी स्थापना गर्ने उद्देश्य परिपूर्तिका लागि बैंकले समझदारीपत्रमा हस्ताक्षर गरेको हो । 

समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेपाल हाते काजग उद्यमी संघका अध्यक्ष नरेन्द्रबहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका अध्यक्ष बुद्धि पुर्जा मगर र नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले हस्ताक्षर गरेका छन् । 

बैंकले परम्परागत बैंकिङभन्दा केही पृथक भएरको देशको अर्थतन्त्रमा योगदान दिने क्षेत्रमा आफ्नो स्रोत र साधनलाई परिचालन गरिरहेको जस्तै साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशील विकास प्रवद्र्धन गर्न सहुलियतपूर्ण कर्जा आदिमा विशेष जोड दिँदै आएको छ । यही प्रयासको निरन्तरतास्वरुप यी संगठनहरुसित समझदारी गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले बताए । 

कार्यक्रममा बैंकका अध्यक्ष पवनकुमार गोल्याणले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न बैंक मूल्यमान्यतामा आधारित बैंकिङ र दिगो बैंकिङ सिद्धान्तमा उभिएको बताए । उनले नेपाल सरकारको समृद्ध नेपाल बनाउने बृहत लक्ष्यलाई साकार पार्न यो समझदारी कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।