काठमाण्डौ । एनएमबी बैंकको आकर्षक लाभांश प्रस्तावका कारण यसका सेयरधनीले बजार खुलेको एकघण्टामै साढे २ अर्ब बढीले सम्पत्ति बढाएका छन् । 

बैंकले गत आर्थिक वर्षका लागि २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको समाचार बाहिरिएसँगै यसले दोश्रो बजारमा बैंकको मूल्यमा उछाल आएको हो । 

बजार खुलेको एकघण्टामै यो बैंकको सेयर मूल्यमा ६.१८ प्रतिशतको बढोत्तरी भइसकेको छ । प्रतिकित्ता रु. २२ ले सम्पत्ति बढिसकेको छ । 

एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरी दोश्रो बजारमा कारोबार समेत खुलिसकेका कारण यो बैंकको नाममा नेप्सेमा ११ करोड ५२ लाख ९७ हजार ४१६ कित्ता सेयर सूचिकृत छ । यो हिसाबले एनएमबी बैंकका लगानीकर्ताले १ घण्टाको अवधिमा २ अर्ब ५३ करोड  ६५ लाख ४३ हजार १५२ रुपैयाँ सम्पत्ति बढाएका छन् । 

आकर्षक लाभांश वितरणको प्रस्तावको हल्ला आइतबारदेखि नै बजारमा व्याप्त थियो । बिजशालाले आइतबारको नियमित स्तम्भ 'ग्राउण्ट जीरो'मा ३० प्रतिशतभन्दा बढी लाभांश बंैकले घोषणा गर्ने छनक आएको संकेत दिएको थियो । 

आकर्षक लाभांश वितरणको प्रस्तावका कारण लगानीकर्ताहरुले मरिहत्ते गरेर एनएमबी बैंकको सेयर खरीद गरिरहेका छन् । यो समाचार तयार पार्दासम्मको मार्केट डेप्थ हेर्दा एनएमबी बैंकमा उच्च खरीद चाप देखिएको छ । 

एनएमबी बैंकको १ लाख १० हजार भन्दा बढी कित्ता खरीदका लागि अर्डर पोस्ट भएको छ । अधिकतम प्रतिकित्ता ३७८ रुपैयाँसम्ममा खरीद गर्न चाहनेहरु देखिएका छन् । 

बिक्रीतर्फ ४४ हजारको हाराहारीमा अर्डर पोस्ट भएको छ । प्रतिकित्ता ३८३ सम्ममा सेयर बिक्री गर्ने पोस्टहरु अर्डर भएका हुन् । 

एनएमबी बैंकको आकर्षक लाभांश र त्यसपछि मूल्यमा आएको उछालका कारण तत्कालीन ओम डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु बढी नै मालामाल भएका छन् । 

एनएमबी र ओम डेभलपमेन्ट बैंकबीच १००ः७६ को अनुपातमा मर्जर भएको थियो । मर्जरका कारण ६ महिनासम्म एनएमबी बैंकका लगानीकर्ताहरुले सेयर खरीदबिक्री गर्न पाएका थिएनन् भने ओमका लगानीकर्ताहरुले त आफ्नो सम्पत्ति करिब एकवर्षदेखि नै बन्धकमा रहेको तीतो अनुभव गरेका थिए । 

प्राइम कमर्सियल बैंकसँगको मर्जर भाँडिएपछि एनएमबी बैंकसँग जेठ २ गते मर्जर सम्झौता भएसँगै अनेकन शंका उपशंका समेत उठेका थिए । ओमले कम सेयर स्वाप रेसियोमा मर्जरमा गएको भन्दै कतिपय लगानीकर्ताले नेतृत्वको आलोचना समेत गरेका थिए । 

तर, एनएमबीसँग मर्जपछि सेयर कारोबार खुल्दा नै एनएमबीलाई नेप्सेले ३५१ रुपैयाँको सुरुवाती रेञ्ज तोकिदियो । यो रेञ्जकै कारण ओमका लगानीकर्ता सुरुमै करिब ३५ प्रतिशतले नाफामा गए । 

एनएमबीमा गाभिएर ३५ प्रतिशत त्यसै सम्पत्ति बढाएका ओमका लगानीकर्ता ३५ प्रतिशत नै लाभांशको आकर्षक निर्णय सार्वजनिक भएसँगै थप मालामाल भएका छन् । 

लाभांशको आकर्षक प्याकेज आएका कारण सेयर स्वाप र अन्य विविध कारणले मर्कामा परेको अनुभव गरेका तत्कालीन एनएमबी बैंकका लगानीकर्ताहरुले समेत राहातको श्वास फेर्न पाएका छन् ।