काठमाण्डौ । फाइनान्सियल टाइम्स लण्डनबाट २०१७ का लागि उत्कृष्ट नेपाली बैंकको उपाधि पाएको एनएमबी बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा छलाङ मारेको छ । 

बैंकले खूद नाफा ४३ प्रतिशत बढीले वृद्धि गरी तथा अन्य महत्वपूर्ण सूचकमा समेत फड्को मार्दै आफूलाई पुनः अब्बल साबित गरेको हो । 

यो बैंकले पहिलोपटक दोश्रो त्रैमासमै खूद नाफा बढाएर १ अर्ब माथि पुर्याएको छ । अघिल्लो वर्ष यही अवधिमा ७० करोड १० लाखमा सीमित नाफालाई बढाएर समीक्षा अवधिमा १ अर्ब ५ करोड ५१ लाखको उचाई चुमेको हो ।

व्यवसाय वृद्धिमा बैंक नेतृत्वले ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ अर्ब २६ करोड रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर १ अर्ब ३९ करोड  पुगेको हो ।

बैंकले खर्च  नियन्त्रणमा विशेष ध्यान दिएका कारण संचालन मुनाफामा पनि छलांग नै मारेको देखिएको छ । अघिल्लो वर्ष ८२  करोड रहेको संचालन नाफा बढेर यो वर्ष १ अर्ब  १३ करोड ६४ लाख पुगेको हो । 

समीक्षा अवधिमा बैंकले ८० अर्ब ५५ करोड निक्षेप संकलन गरी ७० अर्ब ९३ करोड कर्जा  परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ६८ अर्ब ७९ करोड निक्षेप संकलन गरी ६० अर्ब ४० करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकले खराब कर्जा(एनपिएल)लाई समेत घटाउँदै लगिएको देखिएको छ । अघिल्लो वर्ष यही अवधिमा १.८९ प्रतिशत रहेको यस्तो कर्जा घटाएर यो वर्ष १.२० प्रतिशतमा सीमित पारिएको छ ।

बैंकको रिजर्ब कोष समेत थप बलियो बनेको छ । समीक्षा अवधिमा कोषमा ५ अर्ब २३ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्ष यही अवधिमा कोषमा ४ अर्ब ५४ करोड मात्र थियो ।

बैंकले समीक्षा अवधिमा २५  करोड ६५ लाख संभावित जोखिम व्यवस्थापन कोषबाट फिर्ता ल्याएको छ भने संभावित जोखिम व्यवस्थापनका लागि ११ करोड बढी प्रोभिजनमा राखेको छ । 

धेरै बैंक तथा बित्तीय संस्थाहरुको सीसीडी रेसियो ८० प्रतिशत नजिक पुगेर सकस परिरहेको बेला एनएमबी बैंकले आफूलाई थप लगानी गर्न योग्य बैंकको रुपमा उभ्याएको छ । समीक्षा अवधिमा यो बैंकको सीसीडी रेसियो ७६.६१ प्रतिशत मात्र छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको सीसीडी अनुपात ७७.६४ प्रतिशत थियो ।

अघिल्लो वर्ष ४.०४ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ७.१४ प्रतिशत पुगेको छ भने समीक्षा अवधिमा आधार दर १०.३५ प्रतिशत रहेको छ । यो पनि अन्य बैंकको तुलनामा राम्रो दर हो । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी(इपीएस) समेत बढेको छ । अघिल्लो वर्ष २८.३१ रुपैयाँ रहेको इपीएस बढेर ३१.१८ रुपैयाँ पुगेको हो । यस्तै, प्रतिसेयर नेटवर्थ १८०.९८ र मूल्य आम्दानी अनुपात १४.६६ गुणा कायम भएको छ । 

अधिकांश बैंक तथा बित्तीय संस्थाको इक्वीटीमा प्रतिफल घटिरहेको बेला यो बैंकको भने बढेको छ । अघिल्लो वर्ष १७.०६ प्रतिशत रहेको यस्तो प्रतिफल बढेर १८.४२ प्रतिशतको उचाईमा पुगेको हो । 

बैंकका यिनै सवल पक्षकै कारण समीक्षा अवधिमा बैंकले बैंक अफ दि इयर २०१७ सँगै फ्रोस्ट एण्ड सलिभनबाट सर्टिफिकेट अफ मेरिट नेपाल बिजिनेश एक्सलेन्स अवार्ड्स समेत प्राप्त गरेको थियो । हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरु रहेका छन् ।